
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले समाजवादका आधार निर्माण र समाज रुपान्तरणमा लाग्न पार्टीका कार्यकर्तालाई निर्देशन दिएका छन् ।
एमाले रुपन्देहीको आयोजनामा तीन दिने प्रशिक्षण कार्यक्रमको सोमवार बुटवलमा उद्घाटन गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेलले यस्तो बताएका हुन् ।
पार्टीलाई विधि, पद्धतिबाट चलाउने, दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्ने कुरा चुनौतीपूर्ण रहेको बताउँदै उनले विधि र अनुशासन नभई पार्टी चल्न नसक्ने विषयलाई गम्भीरताका साथ लिन आग्रह गरे ।
‘पार्टीभित्र नीतिमा समस्या नरहेकोले वैयक्तिक स्वार्थमा रहेर काम नगर्ने हो भने हाम्रो पार्टीमा समस्या छैन । तर अरूको तुलनामा हैन हाम्रो आवश्यकताका आधारमा हुन जरुरी छ', पौडेलले भने, 'संगठनात्मक अराजकता अन्त्य भएको पाइएन । स्वतन्त्रताका नाममा अराजकता हाबी हुन लाग्यो ! पार्टीको नीति सही छ, नेतृत्व सक्षम छ ।'
पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धा भइरहेको भन्दै पौडेलले भने, 'प्रतिस्पर्धामा रहेका दलहरू छेउमा धिप्किन सक्ने हैसियतमा छैनन् ! तर पनि हामीलाई के को छिनाझपटी छ ? के को तँछाडमछाड छ ? के का लागि अस्वस्थ प्रतिस्पर्धा गरिएको छ ?'
रुपन्देही पार्टीका लागि चुनौतीपूर्ण र अपरिहार्य कार्यसूची भित्र सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या समाधान पहिलो नम्बरमा रहेकोले यसतर्फ दृढतापूर्वक कार्यक्रम बनाएर लाग्न उनले आग्रह गरेका छन् ।
जनतालाई छुने विषयमा कार्यसूची बनाएर हिँड्न उपाध्यक्ष पौडेलले आग्रह गरेका छन् । ‘शिक्षा, स्वास्थ्य र रोजगारीका लागि हामीले के गर्न सक्छौं ? यसबारेमा सरकार बाहिर हुँदा पनि योजना बनाउन आवश्यक रहेकोले वैकल्पिक कार्यक्रम बनाउनुपर्यो’, उनले भने, 'सबै तहको पार्टी नेतृत्वले आर्थिक सामाजिक रुपमा देश बदल्ने योजना बनाउन जरुरी रहेकोले बैठक, सम्मेलन, कार्य विभाजन र भाषण गरेर मात्र अब हुँदैन, जनतालाई छुने विषयमा कार्यसूची बनाएर जानुपर्छ ।'
सर्वाधिक महत्वपूर्ण कार्यक्रममा अनुपस्थित हुनेलाई जिल्ला कमिटीले यथोचित स्पष्टीकरण लिने काम गर्न पनि उनले निर्देशन दिएका छन् ।