०१ असार २०८३, सोमबार

नाइजेरियामा विवाहमा गएका ३५ पाहुना अपहृत

माघ २३, २०८०
काठमाडौं
नाइजेरियामा विवाहमा गएका ३५ पाहुना अपहृत

उत्तरपश्चिमी नाइजेरियामा एउटा विवाहबाट फर्किरहेका पाहुनाहरूलाई अपहरणकारीहरूले अपहरण गरेपछि कम्तीमा ३५ महिला बेपत्ता भएको अधिकारीहरूले सोमबार बताएका छन् । कटसिना राज्यमा भएको सामूहिक अपहरण अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा हालै भएका अपहरणको शृङ्खलामा पछिल्लो सबैभन्दा ठूलो हो । 

प्रहरी प्रवक्ता अबुबकर अलियुले बिहीबार राति साबुवा क्षेत्रमा विवाहबाट फर्किरहेकामाथि संदिग्ध हतियारधारी डाकाहरूले आक्रमण गरी करिब ३५ महिलालाई अपहरण गरेको बताए । राज्यको आन्तरिक सुरक्षा आयुक्त नासिरु मुआजले बेहुलीलाई बेहुलाको घर पुर्याउने क्रममा दामरी गाउँ फर्किंदै गर्दा ५० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइएको बताए। 

'अधिकारीहरूले गाउँको भ्रमण गरेका छन् र ५३ जनालाई लगिएको बताइएको छ,' उनले भने, 'डाका लाग्ने क्षेत्रमा अँध्यारोमा नाचगान गर्दै बेहुलीलाई लिएर गाडी चलाउनु निकै जोखिमपूर्ण थियो, डाकाहरूले उक्त अवसरको फाइदा उठाए र उनीहरूलाई आफूसँगै लिएर गए ।'

आयुक्त मुआजले बासिन्दाहरूसँग रातको समयमा यात्रा नगर्न आग्रह गर्दै सुरक्षाकर्मीले अपहृतहरूलाई खोज्ने र उद्धार गर्ने प्रयास गरिरहेको बताए । 

नाइजेरियामा फिरौतीका लागि अपहरण एउटा ठूलो समस्या बनेको छ । आपराधिक गिरोहले राजमार्ग, अपार्टमेन्ट र यहाँसम्म कि स्कुलहरूबाट विद्यार्थीहरूलाई समेत लुट्न निशाना बनाउँछन् । स्थानीयरूपमा डाकुहरू भनेर चिनिने गिरोहले उत्तरपश्चिमी तथा मध्य राज्यहरूका जङ्गलस्थित आधारबाट अपहरण गर्दै आएका छन् । रासस
 

salt training

कमेन्ट गर्नुहोस्