
प्रहरी सहायक निरीक्षक सुशीला भुसाल नौ महिनाकी गर्भवती छिन् । केही अघिसम्म प्रहरी पोसाकबिनै उनी कार्यालय जान्थिन् । अहिले भने उनी बेग्लै पोसाकमा कार्यालय जान्छिन् ।
नेपाल प्रहरीले गर्भवती प्रहरीका लागि छुट्टै पोसाक व्यवस्था गरेपछि उनी जस्ता धेरै गर्भवती प्रहरी नयाँ बर्दीमा ठाँटिएर कार्यालय पुग्ने गरेका छन् । गर्भावस्था आफैँमा महिलाका लागि जटिल अवस्था हो । गर्भभित्र हुर्कंदै गरेको शिशुको सुरक्षा र कार्यालयको कामको जिम्मेवारी पूरा गर्न महिला प्रहरीका लागि तोकिएको प्रहरी पोसाक सर्ट र पाइन्ट बाधक थियो ।
अब गर्भवती हुने महिला प्रहरीका लागि पोसाककै कारण अप्ठ्यारा दिन सकिएको उनको भनाइ छ । नेपाल प्रहरीले गर्भवती महिलाका लागि नयाँ पोसाक निःशुल्क वितरण थालेको प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार सुरुवाती चरणमा ३७० जना गर्भवती प्रहरीलाई गर्भावस्था अनुकूलको पोसाक दिइएको छ । गोरखापत्रमा खबर छ।