काठमाडौँ, २० असोज - यस वर्षको ‘एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ होम कार्की (नेपाल) र नवीन पोखरेल (बेलायत) लाई दिइने भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) युके र नेपाल पत्रकार महासंघ, युके शाखाद्वारा संयुक्तरुपमा स्थापित उक्त पुरस्कार आज यहाँ बसेको पुरस्कार छनोट समितिको बैठकले कार्की र पोखरेललाई दिने निर्णय गरेको नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।
रु एकलाख एकहजार राशि भएको पुरस्कार यही असोज २८ र २९ गते काठमाडौँमा हुन गइरहेको एनआरएनको आठौँ विश्व सम्मेलनमा प्रदान गरिने महासचिव विष्टले बताउनुभयो ।
प्रवासी नेपालीका बारेमा निरन्तर समाचार सम्प्रेषण गर्ने एकजना नेपालभित्र र एकजना प्रवासका पत्रकारलाई हरेक दुई वर्षमा हुने एनआरएन विश्व सम्मेलनका अवसरमा सो पुरस्कार प्रदान गर्ने गरिन्छ ।
छनोट समितिमा महासंघका अध्यक्ष गोविन्द आचार्य संयोजक तथा पत्रकारद्वय बबिता बस्नेत र भगिरथ योगी सदस्य रहनुभएको थियो ।
कान्तिपुर दैनिकमा आबद्ध कार्की लामो समयदेखि खाडी मुलुकमा नेपालीले भोग्नुपरेका समस्याका बारेमा रिपोर्टिङ गर्दै आउनुभएको छ भने अर्का पत्रकार पोखरेल भने वी नेपाली डटकमका प्रधानसम्पादक रही एक दशकदेखि बेलायतका नेपालीका बारेमा समाचार संकलन, सम्प्रेषण गर्दै आउनुभएको छ ।