
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एक विद्यालयमा दिएको अभिव्यक्तिको चर्को विरोध हुन थालेको छ । मोरङको सुन्दरहरैचा नगरपालिकाको साजिलाल माध्यमिक विद्यालयको वार्षिक उत्सवका कार्यक्रममा उनले दिएको अभिव्यक्ति विवादमा तानिएको हो ।
दुई दिनअघि उनले गरेको भाषणको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । ‘म पनि लास्ट बेन्चमै बस्ने विद्यार्थी हुँ । फस्ट बेच्नमा बस्नेले केबल लेख्न पढ्न मात्र जान्यो, ऊ अहिले खरिदार छ म अहिले मुख्यमन्त्री छु । उसले कसरी हुन्छ भुँडी भर्न मात्र जान्यो ’ उनले भनेका छन् ।
कक्षा कोठामा दिइने ज्ञान विभिन्न किसिमको हुने उनले बताएका छन् । प्रमाणपत्रमा दिइएको अंकले मात्रै ज्ञानको मापन नहुने उनको भनाइ छ । ‘सर्टिफिकेटलाई मात्रै ध्यान दिएर यति नम्बर, यति अंक ल्याएर पास गर्यो भन्ने कुराले मात्रै ज्ञान आर्जन गर्न सक्दैन,’ उनले भाषणमा भनेका छन्, ‘सर्टिफिकेट ज्ञान आर्जनको मापन हुन्थ्यो भने चाणक्यको अर्थशास्त्रको नियम फेल हुन्थ्यो ।’
उनले चाणक्यको उदाहरण दिँदै अर्थशास्त्र पढ्ने विद्यार्थीले चाणक्यको अर्थशास्त्र नपढी डिग्री हासिल गर्न नसक्ने पनि बताएका छन् । चाणक्यले कुन विश्व विद्यालयमा पीएचडी गरेका थिए ? मलाई देखाइदिनुस् भन्दै प्रश्नसमेत गरेका छन् ।