
राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापा 'पार्वती'ले चितवनको माडी नगरपालिका- १ मा पर्ने बाल्मिकी आश्रमको संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् ।
सीमा क्षेत्रमा पर्ने भएकाले भारतीय पक्षबाट निरन्तर अतिक्रमण हुन थालेको, नारायणगढबाट बर्दघाट-त्रिवेणी हुँदै त्यहाँसम्म पुग्न ६ घण्टाको यात्रा गर्नुपर्ने बाध्यता रहेको र निर्माण भइसकेको झोलुंगे पुल पनि सञ्चालनमा आउन नसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
'नेपालको प्रसिद्ध, ऐतिहासिक र धार्मिक सांस्कृतिक महत्त्व बोकेको बाल्मिकी आश्रम चितवन जिल्ला माडी नगरपालिका वडा नम्बर १ मा पर्दछ । तर सो क्षेत्रमा पुग्न नारायणगढ, बर्दघाट, त्रिवेणी हुँदै ६ घण्टा लगाएर सवारी यात्रा गर्नुपर्छ । नेपाल सरकारले लगानी गरेर त्रिवेणीमा निर्माण गरेको झोलुंगे पुल निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन सकेको छैन । बाल्मिकी क्षेत्रको समग्र विकासका लागि धेरै पहिले छुट्ट्याएको १२ बिगा जमिन पनि संरक्षण र सदुपयोग हुन सकेको छैन,' सांसद रावलले भनिन् ।
उनले थपिन्, 'सीमा क्षेत्र भएकाले निरन्तर अतिक्रमणमा परेको छ । भारतीय पक्षबाट दिनप्रतिदिन अतिक्रमण हुने अनि नेपाल सरकारले ध्यान नदिने कारणले गर्दा बाल्मिकी क्षेत्र अतिक्रमणको शिकार भइरहेको छ । यो राष्ट्रियतासँग समेत जोडिएको विषय भएकाले सरकार गम्भीर बन्न जरुरी छ । लुम्बिनी, त्रिवेणी, बाल्मिकी आश्रम, माडी अयोध्याधाम हुँदै जनकपुरधामसम्म धार्मिक पर्यटन गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।'
उनले त्रिवेणी-नारायणी नदी झोलुंगे पुल तत्काल सञ्चालनमा ल्याउन र माडी गोद्दक धार्मिक क्षेत्र हुँदै त्रिवेणीधाम पुग्ने छोटो पर्यटकीय मार्ग सञ्चालनमा ल्याउन पनि माग गरिन् ।