३२ असार २०८३, बिहीबार

टीकापुर नगर विकासको जग्गा घोटालाः १०७ जनाको जग्गा जफत गर्न माग गर्दै मुद्दा दायर

माघ २५, २०८०
काठमाडौं
टीकापुर नगर विकासको जग्गा घोटालाः १०७ जनाको जग्गा जफत गर्न माग गर्दै मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुरमा सार्वजनिक जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको भन्दै २४९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रपसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मीसमेत २४९ जनाविरुद्ध विशेष अदालतमा बिहीवार मुद्दा दायर गरेको हो ।

नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायतका पदाधिकारीको मिलेमतोमा नक्कली रसिद बनाइ समितिका अध्यक्ष, पदाधिकारी एवम् कर्मचारीहरूको संलग्नतामा नगर विकास समितिका प्लट घडेरी आफन्त लगायतको नाममा समितिमा कम रकम बुझाइ हक हस्तान्तरण गरेको पाइएको हो ।

टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेष तथा संघ–संस्थाहरूलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्था उल्लंघन भएको ठहर छ । निर्देशिका बमोजिम उपलब्ध गराउनुपर्नेमा सो नगरी मिलेमतोमा जग्गा व्यक्तिको नाममा गरेको अभियोगपत्रमा उल्लेख छ  ।

तत्कालीन प्रथम तहमा जग्गा व्यक्तिहरूसँग मिलेमतो गरी व्यक्तिगत स्वार्थ र सम्बन्धको आधारमा साविकको टीकापुर विकास समितिको नामका नक्कली कागजात खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको पाइएको हो ।

अख्तियारले टीकापुर नगर विकास समितिको जग्गा व्यक्ति विशेषबाट खरिद गेर भोग गरिरहेका हालका १०७ जना जग्गाधनीको हकमा जफत प्रयोजनको लागि मागदाबी गरेको विज्ञप्तिमा जनाएको छ ।

‘उनीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ वमोजिम कुनै कसूर गरेको नदेखिएता पनि नगर विकास समितिको स्वामित्वमा रहेको सार्वजनिक प्रकृतिको जग्गा निज व्यक्तिहरूको नाउँमा कायम रहेको देखिएको र उक्त जग्गाको हकमा नगर विकास समितिका नाउँमा छाड्न तयार नभएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ बमोजिम जफत गरी साबिकको टीकापुर विकास समिति हालको टीकापुर नगर विकास समितिको नाउँमा कायम गरी पाउन मागदाबी लिइएको छ,’ अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा भनिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्