आगामी ११ फागुनबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने चलचित्र गोर्खा वारियरको गीत ‘जय जय गोर्खाली’को मोशन भिडियो बिहिबार सार्वजनिक गरिएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा यो गीतको भिडियोलाई ओएसआर डिजिटल युट्युव च्यानलबाट रिलिज गरिएको हो ।
शसस्त्र प्रहरी बल पूर्व महानिरिक्षक एवम् बरिष्ट गीतकार शैलेन्द्र खनाल ‘सरद’ले यो गीतलाई लेखेका हुन् । गीतमा युद्धमा खटिएका सिपाहीको विरताको गाथा प्रस्तुत गरिएको छ । यो गीतमा एलिश कार्कीको संगीत रहेको छ । कतव्र्यमा अघि बढ्नका लागि हरेक सिपाहीलाई उर्जा दिने यो गीतलाई राजेश पायल राईले निकै आकर्षक र माधुर्य रुपमा गाएका छन् ।
यो मोसन भिडियोमा गीतलाई एकातर्फ लिरिकल रुपमा प्रस्तुत गरिएको छ । अर्को तर्फ सम्बन्धित गीतको भाव समेटिएको दृष्यसँगै तस्बिर युक्त भिडियोलाई पनि गीतिशब्दसँगै प्रस्तुत गरिएको छ । गीतले बा आमाको आशिष माग्दै, बीरहरुको पनि बीर बन्दै डटेर लड्ने इमान्दारिताको मार्गमा चल्ने अनि मातृभूमिको नाम राख्ने म हुँ बहादुर सिपाहीं भन्दै सिपाहीको कर्तब्य र जिम्मेवारीको बयान गरेको छ । गीतले सेना तथा सुरक्षा फौजमा रहेका बहादुर सिपाहीको सँघर्ष, वीरताको कथा र परिवारसँग उसको सम्बन्धलाई पनि श्रब्य दृष्य दुबै माध्यमले बर्णन गरेको छ ।