अर्जेन्टिना सन् १९७० पछिकै खराब अवस्थाबाट गुज्रिदा रुस विश्वकपमा उसको स्थान के हुने भन्ने तय अन्तिम खेलले पक्का गर्ने भएको छ । शुक्रबार पेरुसँग गोलरहित बराबरी खेलेपछि अर्जेन्टिना विश्वकपमा छनोट हुने या नहुने तय अन्तिम चरणका खेलले गर्ने पक्का भएको हो ।

साविक विश्व उपविजेता अर्जेन्टिना रुस विश्वकप छनोट संकट पार लगाउन र आफ्नो हातमा विश्वकप छनोटको सम्भावनालाई कायम राख्नैपर्ने खेलमा शुक्रबार असफल भयो । अब अन्तिम खेलमा उसले जित निकाल्नैपर्ने दबाब रहँदा अन्य टिमको खेल पनि कुर्नुपर्ने भएको छ ।
शुक्रबार बिहान भएको दक्षिण अमेरिकी छनोटको महŒवपूर्ण खेलमा पेरुसँग गोलरहित बराबरीमा रोकिएपछि अर्जेन्टिना संकटमा परेको हो । दक्षिण अमेरिकी छनोटको अन्तिम खेल बाँकी रहँदा अर्जेन्टिना अंक तालिकाको छैटौं स्थानमा झरेको छ । विश्वकपमा स्थान बनाउन शीर्ष चारमा रहनुपर्छ । पाँचांै भएको अवस्थामा अन्तरमहादेशीय प्लेअफमार्फत विश्वकपमा छनोट हुने आशा बाँकी रहन्छ ।
राजधानी दैनिक लेख्छ -पाँचांै स्थानको पेरुको पनि २५ अंक नै छ । चौथो स्थानको कोलम्बियाको २६ तथा तेस्रो स्थानको चिलीको पनि २६ अंक नै छ । २८ अंक जोडेर दोस्रो स्थानमा रहेको उरुग्वे छनोट नजिक छ । ३८ अंक जोडेको ब्राजिलले भने रसियाको टिकट पक्का गरिसकेको छ । २४ अंक जोडेर सातांै स्थानमा रहेको पाराग्वेको पनि विश्वकपमा छनोट हुने आशा बाँकी नै छ ।
अब १० अक्टोबरमा हुने अन्तिम चरणको खेलमा दक्षिण अमेरिका छनोटको दौडले छनोट हुन बाँकी रहेका थप तीन टिमको टुंगो लाग्नेछ । २ टिमको भने विश्वकप सपना चकनाचुर हुनेछ । छनोटबाट इक्वेइडर, बोलिभिया र भेनेजुएला भने बाहिरिसकेका छन् ।
साविक उपविजेता अर्जेन्टिनाका लागि अब विश्वकपमा छनोट हुने अन्तिम खेलमा इक्वेइडरलाई हराएर मात्र पुग्दैन, अन्य टिमको नजितामा पनि भर पर्नुपर्नेछ ।
अन्तिम खेलमा ब्राजिलले तेस्रो स्थानको चिलीलाई हराए अर्जेन्टिनालाई फाइदा पुग्नेछ ।