
के तपाई संयुक्त अरब इमिरेट्स (यूएई) मा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने दुवई पुलिसको नाम लिएर कतै तपाईँलाई ठगी गर्ने गिरोहले फलो त गरिरहेको छैन ?
यूएईमा कार्यरत नेपाल एसोसिएसन–एनआरएनए यूएइले दुबई पुलिसको नाममा ठगी गर्ने कार्य भइरहेको पाइएको भन्दै सचेत रहन नेपाली समूदायलाई आग्रह गरेको छ ।
नेपाल एसोसिएसन–एनआरएनए यूएईका अध्यक्ष विकास शाहीका उनका अनुसार अहिले युएईमा ठगी गर्ने कार्यमा संलग्नहरुले दुवई पुलिसको नाम लिएर मोवाईलमा फोनकल तथा विभिन्न सञ्जालहरु ईमो, बोटिम, ह्वाटसप, फेसबुक म्यासेन्जर, मोवाईल म्यासेज गर्ने गरेको पाइएको छ । जसको माध्यमबाट ईमिरेष्ट आईडीको विवरण, बैंक डेबिट तथा क्रेडिट कार्डको नम्बर तथा कार्डको पछाडि हुने ३ अंङ्कको सिभिसी नम्बर माग्ने र उक्त नम्बर लिई सकेपछि रजिष्टर मोवाईलमा आउने ओटिपी नम्बर समेत मागेर खातामा रहेको सम्पूर्ण रकम चोरी गर्ने कार्य भएको पाइएको उनको भनाइ छ ।
यस्ता क्रियाकलाप जोसुकैलाई पनि हुन सक्ने भएकाले सजक रहन उनले नेपाली समूदायलाई आग्रह गरे ।
उनका अनुसार युएईमा कुनैपनि प्रशासनिक फोनकल गर्दा ल्याण्डलाइनकोनै प्रयोग गरेको हुन्छ । तर, यस्ता ठगी फोनकलहरु मोवाईल नम्बरबाट आउने गर्दछन् । यस्तै पुलिसले फोन गरेर कहिल्यै पनि बैंकको जानकारी तथा सिभिसी नम्बर माग नगर्र्ने हुँदा कुनैपनि जानकारीहरु कसैलाई पनि नदिन आग्रह गरिएको छ ।
यूएई पछिल्लो समय नेपालीको रोजगारीको आकर्षक गन्तव्य बनेको छ ।