
नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय क्रिकेट खेल आज (शनिवार) हुँदै छ । दुई देशबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजे शुरू हुनेछ ।
नेपाल लगातार दोस्रो जीत हासिल गर्दै शृंखला जित्ने योजनामा उत्रिनेछ । पहिलो खेलमा क्यानडामाथि ७ रनको रोमाञ्चक जीत हासिल गरेको नेपाल ३ खेलको शृंखलामा १-० ले अगाडि छ ।
नेपाल एक खेलअगावै शृंखला हात पार्ने सुरमा छ । पाहुना टोली क्यानडा पनि आजको खेलमा नेपाललाई पराजित गरेर शृंखला जित्ने अवसर बाँकी नै राख्न चाहन्छ । तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।
क्यानडाको मुख्य प्रशिक्षकमा पुबुदु दसानायिके छन् । उनी नेपालका पूर्व सफल प्रशिक्षक हुन् ।
नेपालले डब्लुसीएल लिग टूको तयारी स्वरूप क्यानडाविरुद्ध सिरिजको आयोजना गरेको हो ।
बिहीबार पराजयको नजिक पुगेर पनि नेपालले रोमाञ्चक जीत दर्ता गरेको थियो । क्यानडा २२५ रनको सामान्य लक्ष्य पछ्याएर जीततर्फ अघि बढेको थियो । तर नेपालका बलरले अन्तिममा धारिलो बलिङ गरेपछि रोमाञ्चक जीत निस्किएको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा क्यानडा १७४ रन बनाउँदा ४ विकेट मात्रै गुमाएर बलियो स्थितिमा थियो । तर अन्तिममा नेपाली बलर हाबी भएपछि क्यानडाले २१७ रनसम्म पुग्दा ६ विकेट गुमाएको थियो ।