०९ साउन २०८३, शनिबार

‘आफैं बोक्सी, आफैं झाँक्री’ आहान सम्झाउने उपन्यास

कात्तिक २०, २०७४
‘आफैं बोक्सी, आफैं झाँक्री’ आहान सम्झाउने उपन्यास


केही साताअघि ‘दृष्टिभ्रम’ उपन्यासको लोकार्पण हुँदा आमन्त्रित हुनेहरूको लहरमा बस्ने मौका यस अक्षरकर्मीले पनि पाएको थियो । भृकुटीमण्डप पर्यटन भवनको सभाकक्ष खचाखच भरिएको देख्नेहरूले कमल रिजालको नयाँ कृतिबारे रुचि राख्नेहरूको संख्या बढ्दै गएको अनुमान गरेको हुनुपर्छ । रिजालले यसअघिका आफ्ना दुई उपन्यास ‘सुकर्म’ र ‘पृथा’आध्यात्मिक पृष्ठभूमिका रहेका र यस पटकको प्रयास सामाजिक परिवेशमा गरिएको जानकारी लेखकीय खण्डमा दिएका छन् । र, बोक्सीप्रथा विरोधी यस रचनाले समाजमा सकारात्मक प्रभाव पार्ने आशा उपन्यासकारको रहेको छ ।


लोकार्पणमा सहभागी तीन महिलाले ‘दृष्टिभ्रम’ का लेखकलाई करिव-करिव एकै स्वरले समाजमा चेतना बढाउने रचना सिर्जना गरेकोमा तारिफ गरेका थिए यद्यपि पुरुष भएको हुनाले उपन्यासका नारी पात्रप्रति पूरा न्याय गर्न नसकेको अभिमत साथसाथै जाहेर गरियो । महिला अधिकारवादीहरूको जगजगी भएको अहिलेको अवस्थामा यसप्रकारको शिकायतलाई एकहदमा सामान्य नै भन्नुपर्छ । राष्ट्रिय मानव अधिकार आयोगकी महिला सदस्य मोहना अन्सारीले पुस्तकबारे मन्तव्य दिंदा घोचपेचका एकाध कुरा नराखे श्रोतागणले नै आश्चर्य मान्ने थिए होलान् । अन्सारीले संस्थागत अवधारणा सम्प्रेषण गर्नु अनुचित पनि  होइन ।

उपन्यास गाउँलेहरूद्वारा बोक्सीको दोष लगाएकी एक महिलामाथि भएको दुर्व्यवहारलाई केन्द्रमा राखेर लेखिएको छ । बोक्सी विद्या र विधिका बारेमा समाजमा प्रचलित धारणाहरूको उल्लेख भएको छ, तन्त्र-मन्त र जादू-टुनाका कुराहरू छन् र बोक्सीको आरोप प्राय: महिलामाथि लाग्नुका परिबन्द के के हुन सक्छन् त्यससम्बन्धी चर्चाका आधार केलाउने यत्न यसमा राम्ररी भएको छ । ‘ जो जो मानिस परपीडनबाट आत्मरति लिने स्वभावका हुन्छन् उनीहरूले नै बोक्सीविद्या सिकेका हुन्छन् ’ भन्छन् पण्डित पूर्णप्रसाद पन्थी जो उपन्यासका ती पात्र हुन् जसले अनुसन्धानमा संलग्न जिज्ञासु प्रहरी अधिकृतलाई सम्झाउने काम गरेका छन् । लेखकले बोक्सी एक दृष्टिभ्रम सिवाय केही होइन भन्ने निष्कर्षमा पुग्न वकिल, न्यायाधीश, मनोचिकित्सक समेतका पात्रहरू प्रभावकारी ढङ्गले उभ्याएका छन् । धार्मिक/आध्यात्मिक ग्रन्थहरूको मनग्गे अध्ययन भएको हुनाले लेखक रिजाललाई पाप र पुण्य, स्वर्ग र नरक लगायतका मान्यताको कसीमा विषयवस्तुलाई घोट्न सजिलो भएको देखिन्छ । बोक्सीप्रथा जस्तो विकृतिलाई त्यसै रूपमा प्रस्तुत गर्न र त्यसको माध्यमबाट समाजमा अनुकूल प्रभाव पार्न लर्तरो अध्ययन भएको मानिसबाट सम्भव हुने देखिँदैन । तसर्थ रिजालले यस बापतको स्याबासी पाठकहरूबाट पाउनै पर्छ ।

--------------------------------------------------------------------

कृति : दृष्टिभ्रम (बोक्सीप्रथा विरोधी सामाजिक उपन्यास)

लेखक : कमल रिजाल

प्रकाशक : साङ्ग्रिला पुस्तक प्रा.लि.

संस्करण : पहिलो, २०७४ भदौ

पृष्ठ : २४७

मूल्य : ३५० रूपिञा

--------------------------------------------------------------------------

रिजालको पहिलो उपन्यास मैले पढेको छु, वेद एवं पुराण समेतका धर्मग्रन्थको निजको गहन अध्ययनबाट लाभान्वित हुने पाठकहरूको समूहमा परिसकेको पनि छु । यसपालि छापिएको उपन्यासमा पनि रिजालले पौराणिक कथा, मान्यताका आधारहरू तर्कसम्मत ढङ्गले समातेर नेपाल ईश्वरले चर्चेको देवभूमि हो, तपोभूमि मानिन्छ भन्ने सन्देश दिएको पाइन्छ । चितवन, नवल परासी र मकवानपुर र ती जिल्लाको सेरोफेरोमा बुनिएको यस उपन्यासमा चर्चामा परेका हरेकजसो ठाउँको धार्मिक महत्व झल्काइएको छ । उदाहरणमा आउने एउटा यस्तै स्थल हो हेटौंडा । महाभारतका पात्र हिड्म्बकको प्रसङ्ग उप्काई त्यही नाम अपभ्रंस भै हेटौंडा भएको कुरा कोट्याइएको छ ।

सेवाको पेशा पत्रकारितामा संलग्न भै गोरखापत्रका सम्पादकसम्म बन्न पुगेका कमल रिजालले धेरैजसो समय तथ्य-तथ्याङ्कको लक्ष्मणरेखाभित्र रहेर काम गरेका हुन् । जग-जाहेर कुरो हो, पत्रकारितामा सिर्जनशीलताको ठाउँ नगण्य हुन्छ; भनौं पेटबोलीमा परेका समाचार विवरणको शीर्षक लेख्ने काममा सिर्जनशीलता सीमित रहन्छ । कल्पना गरिने अर्थात् काल्पनिक पात्र र प्रसङ्गहरूलाई त पत्रकारिताको मूलढोकामै ‘प्रवेश निषेध’ गरिएको हुन्छ । अर्को शब्दमा, पत्रकारिता र उपन्यास-लेखन दुई विपरीत कार्यक्षेत्र हुन् । तर रिजालसित यस्तो परस्पर विरोधी परिवेशलाई छिचोल्ने खुबी रहेछ; त्यसै हुनाले सक्रीय पत्रकारिताबाट अवकाश लिएपछि निजको त्यस सीपको परिष्कृत उपयोगले निरन्तरता पाएको देखिँदैछ । आशा गरौं, नेपाली साहित्यको भण्डारमा निधिहरू थप्ने काम लेखकबाट भविष्यमा पनि भैरहने छ ।  

अहिले यत्ति भनौं, नयाँ कृतिका उपन्यासकार बधाईका पात्र छन् ।

–ध्रुवहरि अधिकारी

salt training

कमेन्ट गर्नुहोस्