१७ असार २०८३, बुधबार

अभिनय गर्न सक्दिनँ भन्ने लाग्थ्योः दयाहाङ राई [अन्तर्वार्ता]

कात्तिक २०, २०७४
अभिनय गर्न सक्दिनँ भन्ने लाग्थ्योः दयाहाङ राई [अन्तर्वार्ता]


दयाहाङ राई अहिलेका चर्चित अभिनेता हुन् । थिएटर हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेका राई आजभोलि एकपछि अर्को गर्दै फिल्ममा अभिनय गरिरहेका छन् । ‘सेतो सूर्य’, ‘दासढुंगा’, ‘लूट’, ‘वडा नं. ६’, ‘उमा’, ‘झोले’ लगायतका चलचित्रमा अभिनय गरेर दर्शकलाई प्रभावित पारेका राईलाई ‘कबड्डी’ र ‘लूट’ को चरित्रले अझै सफलता दिलायो । एकै खालको चारित्रिक भूमिका निभाएको भनेर बेलाबेलामा समीक्षक तथा दर्शकको आरोप खेपिरहने राईसँग लोकान्तरका अर्घेलो थापाले उनको वृत्तिवरिपरि रहेर कुराकानी गरेका छन् । प्रस्तुत छ राईसँग गरिएको अन्तर्वार्ताको सम्पादित अंशः

बेलाबेलामा तपाईलाई धेरै फिल्ममा अभिनय गर्‍यो तर सबै चलचित्रमा चरित्र उस्तै भयो भनेर आरोप लाग्ने गर्छ नि ?

मैले हरेक फिल्ममा कति इमान्दार भएर काम गरें भन्ने व्यक्तिगत मूल्यांकन आफैसँग छ । प्रशंसक तथा समीक्षकले गुणस्तरको साटो धेरै फिल्म गर्छ भन्ने गर्नुहुन्छ तर सिनेमा खेल्नुमा मेरा पनि आफ्नै बाध्यता छन् । मैले वर्षमा जम्मा चार फिल्ममा मात्र अभिनय गरिरहेको हुन्छु । कम सिनेमा गर्नुपर्छ भन्दा पनि विभिन्न प्रयोजनमा बनेका फिल्ममा काम गर्नुपर्छ भन्ने लाग्छ । नयाँ निर्देशकसँग फरक फिल्ममा काम गर्दा रमाइलो लाग्छ ।

कम र स्तरीय फिल्म खेल्नेबारेमा पनि त सोच्नुपर्ने हो नि, हैन र ?

मलाई प्रस्ताव आएका फिल्मलाई आधार मान्ने हो भने दशदेखि बढीमा पन्ध्र प्रतिशत फिल्ममा काम गरेको छु । अहिले नेपालमा निर्माण हुने धेरै चलचित्र मकहाँ आएर ठोक्किन्छन् । आफूलाई स्किृप्ट चित्त बुझेको फिल्ममा मात्र अभिनय गरिरहेको हुन्छु । मुस्किलले दश प्रतिशत फिल्ममा मात्र काम गर्दा पनि उस्तै चरित्र लाग्नु बेग्लै पक्ष हो । एकखालै फिल्ममा दर्शकमाझ आइरहनु भनेको एक प्रकारले विरोधको शिकार हुनु हो ।

तुलनात्मक रुपमा हेर्ने हो भने तपाईले अभिनय गरेका फिल्ममध्ये धेरै ‘फ्लप’ छन् । गल्ती कहाँनेर भएको छ ?

म आफूले गल्ती गरेको छु भन्दिन । कुनै सिनेमा दर्शकलाई मन पर्नु, कुनै समीक्षकलाई मन पर्नु फिल्मको ‘स्वाद’ मा भर पर्ने कुरा हुन् । सबैको आ–आफ्नै धारणा हुन्छ । तपाईलाई मन पर्ने फिल्म मलाई मन नपर्न सक्छ । आफैले आफूलाई इमान्दार भएर भन्दा मैले गल्ती गरें कि भन्ने लाग्दैन । अभिनय गरेका केही सिनेमा अबको सय वर्षपछि हेर्दा पनि आनन्द लाग्ने खालका छन् । ती फिल्ममा अभिनय नगरेको भए शायद मलाई खुशी मिल्दैनथ्यो ।

प्राय तपाईले अभिनय गरेका चलचित्र उस्तै हुनुको कारण ?

हाम्रोमा फिल्म निर्माता धेरै छन् तर कस्तो फिल्म बनाउने भन्ने बुझेका निर्माता एकदमै कम छन् । फिल्म कस्तो बनाउने, कति लगानी गर्ने र कुन बजारलाई समेट्ने भन्नेबारेमा धेरैलाई थाहै छैन । निर्माताले अनुमानको भरमा फिल्म निर्माण गरिरहेका छन् । यसले फिल्मको स्तर बढाउन मद्दत गर्दैन । नेपालमा दैनिक चारदेखि पाँचवटा फिल्म बन्छन् । हिजो चलचित्र ‘लूट’ हिट भयो, त्यही फर्मुलामा आधारित फिल्म अहिले पनि बनिरहेका छन् । त्यसपछि ‘कबड्डी’ ले राम्रो व्यापार गर्‍यो । अहिले अक्सर यिनै दुई फिल्ममा आधारित अन्य फिल्म निर्माण भइरहेका छन् । फरक धारका फिल्म निर्माण गरेर लगानी उठाउन निर्माता आँट गर्नुहुन्न । उही सूत्रमा चलचित्र निर्माण ग–यो भने लगानी सुरक्षित हुन्छ भन्ने लाग्छ निर्मातालाई । हामीलाई त्यतिबेला चलचित्र ‘लूट’ र ‘कबड्डी’ ले पैसा कमाउला भन्ने लागेको थिएन । लेखक, निर्माता र निर्देशकले त्यही शैलीलाई पछ्याउँदा उस्तै फिल्म बनिरहेको हुनुपर्छ ।

फरक फिल्म किन बन्न सकेनन् त ?

अहिले सिनेमा कलाकारकेन्द्री भएको छ । थिएटरमा एक्टर हाबी हुनसक्छ भने फिल्म निर्देशकको हातमा हुन्छ । फिल्ममा कलाकार हाबी भयो भन्नुको कुनै अर्थ छैन । बरु के चाहिँ हो भने आजभोलि निर्देशक नै कलाकारको मात्रै भर परेर आउन थाले । हामीले गरेको अभिनयबाट मात्र निर्देशक मख्ख परिरहेका हुन्छन् । निर्देशकले के सही र केही गलत भन्ने छुट्याउन सक्दैनन् । त्यसैले पनि हामी (कलाकार) हाबी भयौं कि भन्ने लाग्छ कहिलेकाहीं । फिल्म कस्तो बनाउने भन्ने निर्देशक र निर्मातामा भर पर्छ । निर्देशकलाई चल्तीका कलाकार लिएको छु, फिल्म चल्छ भन्ने भ्रम हुन सक्छ । भनिहालें नि, उही सूत्रमा फिल्म बनिरहँदा फरक फिल्म बन्न सकेनन् ।

फिल्ममा मौलिकता हुनुपर्छ भनेर बहस हुने गर्छ, नेपाली फिल्म र मौलिकतालाई कसरी हेर्नुभएको छ ?

हामी आयातित काममै बढी रमाउन खोजिरहेका छौं । अरुको राम्रो कलाबाट प्रभावित हुनु स्वभाविकै हो । मान्छेले त्यहींबाट प्रभावित भएर नै आफ्नो कुरा खोज्ने हो । हाम्रो समाज, परिवेश र समयलाई लिएर फिल्म चाहिँ बन्नुपर्छ । हाम्रो भोगाइ नै फिल्मको मौलिकता हो ।

चलचित्र ‘दासढुंगा’ मा निभाएको भूमिकाबाट तपाईले राम्रो प्रतिक्रिया पाउनुभयो, ‘लूट’ मा पनि तपाईको चरित्रको तारिफ भयो तर पछिल्ला चलचित्रमा उस्तै अभिनय दोहोरिएको समीक्षा गर्ने गरिन्छ नि ?

पहिलो कुरा चरित्र विकास किन हुन सकेन भने हामीले समाज बुझेका छैनौं । समाज नबुझेसम्म हामीले पात्रको चरित्र निर्माण गर्न सक्दैनौं । त्यसैले पनि फरक पात्र जन्मिन सकेनन् । मैले फरक चरित्र निर्वाह गर्न सकिन भन्ने आरोप लागिरहँदा केही कुरामा म सहमत भए पनि सबै कुरामा भने सहमत छैन । किनकि मैले हरेक चलचित्रमा फरक भूमिका निभाइरहेको हुन्छु । तपाई दाबीसाथ भन्दिनुस् कि, मैलै कुन–कुन चलचित्रमा एउटै अभिनय गरें? फिल्ममा चरित्र उस्तैजस्तो लागेपनि पात्रका विशेषता फरक हुन्छन् । घमण्ड गरेर भनेको होइन, तर हरेक चलचित्रमा फरक प्रकृतिको काम गरिरहेको हुन्छु 

अनि ?

अभिनय एउटै लाग्नुको कारण फिल्म बनाउन हामी हतार गरेर पनि हो । हामी समाज बुझ्नतिर लाग्दैनौं । समाजलाई नबुझ्दा चरित्रको प्रस्तुतीकरणमा समस्या हुन्छ । भन्ने नै हो भने, हामी धेरै आत्तिएर फिल्म बनाउँछौं । मानौं, भोलि संसार नै ध्वस्त हुनेवाला छ । यसरी हतार गर्दा समाजका चरित्रलाई जस्ताको तस्तै फिल्ममा उतार्न सम्भव छैन । र अन्य चरित्रको प्रभाव रहिरहन्छ । यो मेरो समस्याभन्दा पनि निर्माता, निर्देशक र फिल्म लेखकको समस्या हो । लेखकले मैले अभिनय गरेका पुराना फिल्म हेरेर त्यही चरित्रमा फिल्म लेखिदिन्छन् । त्यस्तो चरित्रमा मैले कसरी नयाँपन दिन सक्छु?

तपाईको संवाद कथन पनि प्राय फिल्ममा एउटै हुन्छ भनेर धेरैले गुनासो गर्छन्, हैन र ?

कुनै समय मलाई अभिनय गर्न आउँछ भन्ने पनि लाग्दैन थियो । किनकि मेरो लबजमा धेरै त्रुटि हुन्थ्यो । भाषालाई सहज बनाउन खोज्दाखोज्दै आफ्नै तरिकाको शैली बन्यो होला । एउटा हिमाली भेगको पात्रको अभिनय गर्नका लागि कलाकारलाई ६ महिनादेखि एक वर्षसम्म लाग्छ तर हामीसँग त्यति धेरै समय हुँदैन । सुनेको भरमा अभिनय गर्दा पात्रको चरित्र स्वभाविक नहुन सक्छ । भलै म पात्रको आवरणसँग मात्र काम गर्दिन । म पात्रको मानसिकता, परिवेश लगायत सबै पक्षलाई फिल्ममा उतार्न खोजिरहेको हुन्छु ।

कुनै बेला अभिनय गर्न पनि सक्दिन भन्ने लाग्थ्यो भन्नुभयो, तर अहिले सफल कलाकार बन्नुभएको छ । फर्केर हेर्दा के कुराले तपाईलाई कलाकार बनायो भन्ने बुझ्नुभयो ?

मलाई पनि अभिनय गर्ने रहर थियो तर त्यतिबेला नेपाली सिनेमामा जसरी कलाकारिता र अभिनयको सौन्दर्य मापन गरिन्थ्यो, त्यसमा म ‘फिट’ थिइन । त्यही फिटको कारणले नायकीबाट पछि हटेपनि लेखन र निर्देशनलाई फाइदा पुगोस् भनेर अभिनयको तालीम लिएँ । निर्देशन सिक्ने पनि अभिनय प्रकृयाबाट नै थियो । पछि मैले फिल्ममा गरेको अभिनय दर्शकले रुचाइदिनुभयो । कामलाई निरन्तरता दिँदै गएँ । सफल कलाकार बन्नुको कारण निरन्तरता हो भन्ने लाग्छ ।

अभिनय गर्न सजिलो कि निर्देशन ?

अभिनयमा कलाकारले आफ्नो कामलाई मात्र राम्रोसँग गरे भयो तर निर्देशकले पूरै फिल्म बुझेको हुनुपर्छ । निर्देशकको काम एक्सन, कट गर्ने मात्र होइन । उसको धेरै ठूलो भूमिका हुन्छ फिल्ममा । कलाकारले त क्यामेराको अगाडि अभिनय गरे पुग्यो तर निर्देशकले फिल्मको सम्पादनदेखि सबै पक्षलाई ख्याल गर्नुपर्छ । तर हामी अहिले पनि कपी पेष्टकै फिल्ममा छौं । उही सूत्रलाई पछ्याइरहेका छौं ।

फिल्म निर्देशन गर्ने भन्दै आइरहनुभएको छ, योजना के छ ?

निर्देशन त म गर्छु नै । अहिलेलाई यो प्रश्नोत्तरमै सीमित राखौं । अझै निर्देशनको तयारीमा छैन ।

तस्बिरः आर्यन बिमली

salt training

कमेन्ट गर्नुहोस्