११ साउन २०८३, सोमबार

प्रहरीले खोजेर बुझायो २ सय ५२ जनाका हराएका मोटरसाइकल

माघ २७, २०८०
काठमाडौं
प्रहरीले खोजेर बुझायो २ सय ५२ जनाका हराएका मोटरसाइकल

हराएका २ सय ५२ वटा मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण गरिएको छ ।

विभिन्न मितिमा हराएका ती मोटरसाइकललाई चालू आर्थिक वर्षको ६ महिनामा फेला पारी सवारी धनीलाई हस्तान्तरण गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा फेला परेका २ सय ५२ वटा सवारी साधन धनीलाई जिम्मा लगाएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार शुक्रवार १७ वटा दुई पाङ्ग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ ।

प्रहरीले अवैध रुपमा नेपाल भित्रिएका १२ वटा सवारी साधन भन्सार कार्यालयमा बुझाइएको भट्टले बताए । चालू आर्थिक वर्षको हालसम्म चोरीका २० सवारी साधनसहित चोरीमा संलग्न २४ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाका बौद्ध, माछापोखरी, कालोपुल, बाफल, कालीमाटी, दरबारमार्ग, सिंहदरबार, नारायणटार, कपन, गहनापोखरी, बालाजु, बूढानीलकण्ठ, चुनदेवी, फर्पिङ, नयाँबसपार्कलगायत स्थानमा दुई पाङ्ग्रे सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नं १०३, नेपाल प्रहरीको हटलाइन नं १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्