
स्पेनिस ला लिगा फूटबलमा रियल म्याड्रिडले जिरोनालाई ४–० ले हराउँदै शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाएको छ । शनिवार राति घरेलु मैदानमा भएको खेलमा जुड वेलिंघमले सानदार प्रदर्शन गरेपछि रियलले लिग अन्तर फराकिलो बनाएको हो ।
रियालको जीतमा घाइते भएर निको भएपछि भर्खरै मैदानमा फर्किएका वेलिंघमले दुई गोल गरे । यस्तै भिनिसियस जुनियर र रोड्रिगोले समान एक गोल गरेका छन् । यससँगै उपाधि जित्न होडमा रहेको जिरोना पाँच अंकले पछि परेको छ । रियाल भने अब होडमा एक्लैजस्तो छ ।
जीतसँगै रियलको २४ खेलमा ६१ अंक पुगेको छ । यससँगै उ शीर्ष स्थानमा थप मजबुत बनेको हो । जिरोना ५६ अंकसहित दोस्रो स्थानमा छ ।
अन्य खेलमा ओसासुनाले रियल सोसिडाडलाई १–० ले र लास पाल्मासले भ्यालेन्सियालाई २–० ले हरायो । एलाभेस र भिल्लारियलले १–१ को बराबरीमा खेले ।