
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले विधान अधिवेशनको प्रस्ताव तयार पार्ने जिम्मा पदाधिकारीलाई दिएको छ ।
शुक्रवार र शनिवार २ दिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले आगामी फागुन १, २ र ३ गते बोलाइएको सो सम्मेलनमा प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रुप दिने जिम्मेवारी पार्टी पदाधिकारीको बैठकलाई दिएको हो ।
यस्तै माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको पार्टी रुपान्तरण अभियानको केन्द्रीय कमिटीमा समीक्षा गर्ने निर्णय पनि गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए । केन्द्रीय समिति बैठक आइतबार बस्दैछ ।
यसैबीच स्थायी समिति बैठकमा पार्टीमा आन्तरिक निर्वाचनको आवाज उठेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकमा बोल्ने नेताहरूले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित गरेर युवालाई आकर्षित गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।
००००
ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । इमाडोलको ओचुहाइटकी रविना महर्जन र उनका दुई सन्तानको मृत्यु भएको छ ।
प्रहरीका अनुसार रविना महर्जन घरको तीन तलाबाट हाम्फालेपछि मृत्यु भएको हो । शनिबार उपचारको क्रममा उनको ललितपुरकै किष्ट अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शेखर खनालले जानकारी दिए ।
००००
नेपाल प्रहरीले हराएका २५२ मोटरसाइकल फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा हराएका ती मोटरसाइकललाई चालु आर्थिक वर्षको ६ महिनामा ती मोटरसाइकल हस्तान्तरण गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
००००
तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम ल्होसार शनिबार धुमधामसँग मनाइएको छ ।
नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदायसँगै उत्तरको छिमेकी मुलुक चीनसहितका बौद्धमार्गीहरूले आजकै दिन नयाँ वर्ष मनाउने गर्दछन् ।
००००
पहिलो खेलमा रोमाञ्चक जीत र दोस्रो खेलमा धैर्यतापूर्वक आक्रामक ब्याटिङको नमूना पेश गर्दै नेपालले क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज जितेको छ । तीन खेलको सिरिजका लागि नेपाल भ्रमणमा रहेको क्यानडालाई लगातार दुई खेलमा पराजित गर्दै नेपालले एक खेल अगावै सिरिज जितेको हो ।
००००
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सरकारले जनताका अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् ।
समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
००००
नेपाल र युरोपेली मुलुक स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हालै नेपाल सरकार र स्विट्जरल्यान्ड सरकारबीच हवाई सेवा सम्झौता भएको हो ।
००००
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ ।
विमानस्थलमा कार्यरत प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएपछि विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई दिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा थप कूटनीतिक पहलमार्फत् सीमा क्षेत्रको विकास र व्यापार प्रवद्र्धन व्यवस्थित तुल्याइने बताएका छन् । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४औँ साधारणसभाको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले व्यापार प्रवद्र्धनका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्नुपर्ने विषयमा आफू जानकार रहेको बताएका हुन् ।
००००
पछिल्लो समय रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछि आफन्तले उद्धारका लागि आग्रह गर्ने गरेका छन् । परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारीअनुसार रुसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपालीको मृत्यु भएको छ भने पाँच जना युक्रेनी सेनाको कब्जामा छन् ।
००००
नागरिकता प्रकरणमा विवादमा तानिएका वीरगन्ज महानगरपालिकाका मेयरसँग गृह मन्त्रालयको टोलीले जिल्ला प्रशासन कार्यालयमा बयान लिएको छ । उनले एक किशोरीलाई छोरी भनेर नागरिकता दिएको आरोप लागेको छ ।
बयानका क्रममा मेयर सिंहले नागरिकता दिलाइएको रुविना श्रेष्ठ आफ्नो छोरी भएको स्वीकारेको स्रोतले जनाएको छ । गृह मन्त्रालयको टोली समक्ष मेयर सिंहले भने,‘रुविना श्रेष्ठ मेरै छोरी हो, उसको जन्मदर्तामा पनि मेरै नाम छ । मैले दुईवटा बिहे गरेको छु ।’