
इटहरी– इटहरी उपमहानगरपालिकाले १०० जना द्वन्द्वपीडित घर–परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । माओवादी घटकहरूले मनाउने गरेको ‘जनयुद्ध दिवस’का अवसरमा मंगलवार नगर प्रमुख (मेयर) हेमकर्ण पौडेलले इटहरीमा रहेका द्वन्द्वपीडित घर–परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेका हुन् ।
उनीहरूलाई निःशुल्क स्वास्थ्य बीमा गर्न चार लाख रुपैयाँ रकम दिने निर्णय गरिएको हो । यो योजना तत्काल लागु हुनेगरी यही आर्थिक वर्षमा कुनै संस्थामार्फत गरिने उपमहानगरले जनाएको छ ।
सशस्त्र द्वन्द्वमा पीडित बनेकाहरूको निःशुल्क बीमा गरिदिने मेयर पौडेलको भनाइप्रति नेकपा (माओवादी केन्द्र)का इटहरी नगर अध्यक्ष बहादुर तामाङले आफूहरू अत्यन्तै खुसी भएको प्रतिक्रिया दिए । उनले अब पीडितहरूको नाम तयार गरेर आफूले मेयरलाई बुझाउने पनि बताए ।
सर्वोच्च अदालतले ुजनयुद्ध दिवसुको बिदा खारेज गरिदिए पनि माओवादीका विभिन्न घटकले फागुन १ गते मंगलवार यो दिवस मनाएका छन् ।