२५ असार २०८३, बिहीबार

पदमार्गमा झोलुङ्गे पुल निर्माण

फागुन २, २०८०
म्याग्दी
पदमार्गमा झोलुङ्गे पुल निर्माण

मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । 
स्थानीयवासी र ताल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर थासाङ गाउँपालिकाले झोलुङ्गे पुल निर्माण गरेको हो । थासाङ –२ कोवाङका वडाध्यक्ष गौतम शेरचनले ४५ लाख ३२ हजार एक सय छ लागतमा ८३ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको जानकारी दिए ।

'म्हरक्पुं दोङ खोलामा पुल नहुँदा बर्खामा पर्यटक र स्थानीयवासीले जोखिम मोलेर आवतजावत गर्नुपर्ने समस्या थियो,' उनले भने, 'पुल बनेपछि सुरक्षित आवतजावतका साथै एउटादेखि अर्को ताल पुग्न लाग्ने समय ३० मिनेटबाट पाँच मिनेटमा छोट्टिएको छ ।' कोवाङ, खन्ती, नाउरीकोट, ताङछरा, लार्जुङलगायत बस्तीका एक सय ६० घरधुरीका साथै ताल भ्रमणमा आउने पर्यटक पुलबाट लाभान्वित भएका छन् । सेकुङ र भुतर्छो तालको बीचमा म्हरक्पुं खोलाले कटान गरेर बनाएको खोचमाथि झोलुङ्गे पुल निर्माण भएको हो ।

स्थानीयवासी विशाल परियारका अनुसार पुल बनेपछि घुमाउँरो बाटोमा खोला तरेर यात्रा गर्नुपर्ने समस्या हटेको छ । पुल निर्माणका लागि स्वाप कार्यक्रमले रु ३४ लाख ७५ हजार पाँच सय १५, गाउँपालिकाले पाँच लाख ८९ हजार एक सय ७३, टिबिएसयुले तीन लाख ८६ हजार सात सय ७४ सहयोग र उपभोक्ताले ९० हजार छ सय ४२ बराबरको श्रमदान गरेका वडा कार्यालयले जनाएको छ । 

धवलागिरि र टुकुचे हिमालको फेदीमा रहेको सेकुङ र भुतर्छो ताल पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । दुईवटै तालको पृष्ठभूमिमा पूर्वतर्फ निलगिरि र पश्चिममा धवलागिरि हिमाल देख्न सकिन्छ । करिब एक सय ५० मिटर लम्बाइ र २० मिटर चौडाइको गोलो आकारको सेकुङ ताल समुद्री सतहबाट दुई हजार सात सय २५ मिटरको उचाइमा अवस्थित छ । ताल परिसरमा चौँरी, भेडाबाख्रा र गाईभैँसीको चरन खर्क छ । 

समुद्री सतहबाट दुई हजार छ सय ८३ मिटरको उचाइमा सल्ला र धुपीका रुख रहेको जङ्गलको बीचमा अवस्थित भुर्छतो तालको लम्बाइ करिब पाँच सय मिटर, चौडाइ ५० मिटर र गहिराइ पाँच मिटर भएको अनुमान छ । थकाली भाषामा (पुच्छोर) भनेर चिनिने भुर्छतो ताल विभिन्न प्रजातिका हाँस, चरा र रतुवा मृगको बासस्थान क्षेत्र हो । सुक्खा मौसममा यस तालमा पूजाआजा गरेमा वर्षा हुने जनविश्वास छ । 

बेनी–जोमसोम सडकको ताङछरबाट तीन किलोमिटर पाँच सय मिटर कच्ची सडकको यात्रापछि पुगिने सेकुङ र भुतर्छो तालमा गाउँपालिकाले पदमार्ग, पर्खाल, सार्वजनिक शौचालयलगायतका पूर्वाधार निर्माण गरेको छ । सेकुङ र भुतर्छो ताल म्हरक्पुं दोङ खोलाको वारिपारि छन् ।

salt training

कमेन्ट गर्नुहोस्