१० साउन २०८३, आइतबार

सातै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

असार २५, २०८३
चितवन
सातै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सातै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्ने योजना अघि बढाएको छ । पालिकाका नगर अस्पताल वा आधारभूत अस्पतालमध्ये एउटामा भरतपुर अस्पतालका विशेषज्ञ चिकित्सकबाट बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन गर्ने तयारी गरिएको हो ।

यसका लागि अस्पतालले पालिकाका प्रमुखसँग छलफल सुरु गरिसकेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीसहितको टोलीसँग शारदानगर हेल्थपोस्टको स्थलगत अध्ययन गरेको जानकारी दिए । उनका अनुसार उक्त हेल्थपोस्टमा भरतपुर अस्पतालका विशेषज्ञ चिकित्सक पठाउने तयारी भइरहेको छ।

“भरतपुर महानगर सकारात्मक भएकाले छिट्टै हामी यो काम अघि बढाउँछौँ,” उनले भने ।

रत्ननगर नगरपालिकाका प्रमुख र उपप्रमुखसँग पनि छलफल भइरहेको तथा अन्य पालिकासँग आवश्यक समन्वय अघि बढाइएको डा. बगालेले बताए । पालिकास्तरमै विशेषज्ञ सेवा पुगेपछि भरतपुर अस्पतालमा हुने बिरामीको घुइँचो कम हुने उनको विश्वास छ।

“स्थानीयस्तरमै नागरिकलाई भरतपुर अस्पतालको सेवा दिँदैछौँ,” उनले भने । ती अस्पतालमा प्राथमिक र विशेषज्ञ सेवा उपलब्ध गराइने तथा भरतपुर अस्पतालले अति विशिष्टिकृत उपचारमा केन्द्रित हुने उनले बताए ।

डा. बगालेका अनुसार सामान्य समस्या लिएर भरतपुर अस्पताल आउनुपर्ने बाध्यताको अन्त्य गर्न यो अभियान सञ्चालन गर्न लागिएको हो । सबै पालिका सकारात्मक भए दुई वर्षभित्र अस्पतालमा आउने बिरामीको सङ्ख्या आधा घटाएर विशिष्टिकृत सेवामा थप ध्यान दिन सकिने उनले बताए ।

हाल भरतपुर अस्पतालमा दैनिक ओपिडी सेवाका लागि तीन हजारसम्म बिरामी आउने गरेका छन् । सामान्य समस्याका बिरामीसमेत अस्पताल आउँदा व्यवस्थापनमा जटिलता थपिएको र बिरामीले पनि सास्ती खेप्नुपरेको उनले बताए ।

उनका अनुसार विस्तारित सेवा प्रभावकारी भए देशभर नै यो अभियान विस्तार गर्न सकिनेछ । अहिले अस्पतालमा आउने ७० प्रतिशतभन्दा बढी बिरामी स्वास्थ्य बीमामा आबद्ध रहेकाले यसबाट बीमित बिरामीलाई पनि थप सहज हुने विश्वास गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्