
नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यको संख्या १५१ जनामा सीमित गर्ने भएको छ ।
मंगलवारदेखि काठमाडौंमा जारी विधान अधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेश गरेको विधान मस्यौदामा केन्द्रीय समिति १५१ सदस्सीय बनाउने उल्लेख छ । यो विधान कार्यान्वयनमा गएपछि माओवादीका २५८ सदस्यको पद धरापमा पर्नेछ ।
माओवादीमा हाल ४ सय ९ जना केन्द्रीय सदस्य छन् । पछिल्लोपटक २०८० साउन २१ गते विस्तार गरिएको केन्द्रीय समितिमा ४ सय ९ जना सदस्य थिए । केन्द्रीय समिति १५१ जनामा सीमित गर्दा कम्तीमा २५८ जनाको पद धरापमा पर्ने भएको हो ।
उपाध्यक्ष पम्फा भुसाल संयोजकत्वको कार्यदलले बनाएको विधान मस्यौदामा केन्द्रीय समितिका सदस्यले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिवलगायतका पदाधिकारी चयन गर्ने प्रस्ताव गरिएको छ ।
केन्द्रीय समितिको एकतिहाइ पोलिटब्युरो राख्न प्रस्ताव गरिएको छ ।
केन्द्रीय समिति जम्बो बनाउँदा पार्टी कमिटी चुस्त बन्न नसकेको निष्कर्षसहित माओवादीले आकार घटाउने तयारी गरेको हो ।
सम्मेलनमा पेश गरिएको विधान मस्यौदामा माथि बुधवार समूहगत छलफल चलिरहेको छ ।