
प्रहरी महानिरीक्षक (आइजीपी) बसन्त बहादुर कुँवरले मिटर ब्याजी र तस्करविरुद्ध खरो रूपमा उत्रिन प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका छन् । सरूवा भएर आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी उपरीक्षकहरूलाई बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा उनले यस्तो निर्देशन दिएका हुन् ।
मिटरब्याजी, लागूऔषध तथा अन्य तस्करी नियन्त्रणको साथै विभिन्न आपराधिक क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन उनले निर्देशन दिए ।
माघ १ गते २२ जिल्ला प्रहरी कार्यालय, ७ प्रहरी गण, ४ ट्राफिक प्रहरी कार्यालय र १ अन्यगरी ३४ जना एसपीहरूलाई नयाँ प्रमुखका रूपमा सरुवा गरिएको थियो ।
त्यस्ता गतिविधिविरूद्ध सचेतना अभिवृद्धि गर्न मातहत कार्यालयहरूलाई समेत क्रियाशील बनाउन थप सक्रिय हुनुपर्ने उनले बताएका थिए ।
आइजीपी कुँवरले नेपाल प्रहरीको कार्ययोजना २०८० एवम् कार्य सम्पादन सम्झौता अनुरूप सांगठनिक लक्ष्य प्राप्तिको लागि सुम्पिएको जिम्मेवारी पूरा गर्न आ–आफ्नो कार्यक्षेत्रमा सामूहिक भावनाका साथ गुणत्मक काम गर्नुपर्ने बताए ।
आइजीपी कुँवरले आ–आफ्नो कार्यक्षेत्रको अवस्था, समस्या एवम् चुनौतीको विश्लेषण गरी सोही अनुरूप कार्ययोजना बनाई काम गर्नुपर्ने उल्लेख गर्दै शान्ति सुव्यवस्था कायम गर्न स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वय गरी अगाडि बढ्नुपर्ने बताए ।