०७ असार २०८३, आइतबार

डीडीसीका महाप्रबन्धकलाई क्रान्तिकारी युवा संगठन नेपालले कार्यकक्षमै दल्यो कालोमोसो

फागुन ४, २०८०
काठमाडौं
डीडीसीका महाप्रबन्धकलाई क्रान्तिकारी युवा संगठन नेपालले कार्यकक्षमै दल्यो कालोमोसो

दुग्ध विकास संस्था (डीडीसी)का महाप्रबन्धक सञ्जीव झालाई क्रान्तिकारी युवा संगठन नेपालका नेता कार्यकर्ताहरूले कालोमोसो दलेका छन् ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट संगठनका कार्यकर्ताहरूले महाप्रबन्धक झालाई शुक्रवार बिहान कार्यकक्षमै पुगेर कालोमोसो दलेका हुन् ।

उनीहरूले कालोमोसो दलेको भिडियो समेत सार्वजनिक गरेका छन् ।

दुग्ध विकासको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेकाले उनलाई कालोमोसो दलिएको संघका अध्यक्ष हरिष भट्टले लोकान्तरलाई जानकारी दिए ।

यस्तै इन्धन र सवारीसाधन प्रयोगमा मितव्ययी नभएको, डीडीसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न आलटाल गरेको, कर्मचारीको सरुवा–बढुवामा समेत आर्थिक लाभ लिने गरेको, किसानबाट संकलन भएको दूध बिक्री नगरी पाउडर बनाएर गोदाममा थन्क्याउने र कमिसनको लागि दूध उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयातका लागि मन्त्रालयमा लिखित प्रस्ताव गरेको संघले दाबी गरेको छ ।​

यस्तै महाप्रबन्धकको नियुक्ति लिएयता पहिलो वर्ष ३७ करोड र दोस्रो वर्ष ६० करोड गरि ९७ करोड संस्थान घाटामा लगेको संघले आरोप लगाएको छ ।

कमेन्ट गर्नुहोस्