
नेपाली कांग्रेसका २२ जना केन्द्रीय सदस्यले आशन्न महासमिति बैठकमा सनातन हिन्दूराष्ट्रको पक्षमा निर्णय लिन भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई हस्ताक्षर बुझाएका छन् । शुक्रवार बसेको केन्द्रीय समिति बैठकमा केन्द्रस्य सदस्य शंकर भण्डारीसहित २२ सदस्यको हस्ताक्षर बुझाएका हुन् ।
हस्ताक्षर गर्नेमा देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, शुक्रराज शर्मा, इन्द्रबहादुर बानियाँ, दिलेन्द्रप्रसाद बडू र रंगमति शाही छन् । यसैगरी विद्या तिमल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंगबहादुर सिंह, सीताकुमारी रानालगायत छन् ।
यस्तै केन्द्रीय सदस्य पुष्पा भुसाल, सारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर बड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव र डा डिला संग्रौलालगायत पनि छन् ।
केन्द्रीय सदस्यको हस्ताक्षरको नेतृत्व गरेका भण्डारीले आम जनताको भावनाअनुसार कांग्रेसले निर्णय गर्नुपर्ने बैठकमा कुरा राखेका छन् । उनले हस्ताक्षर गर्ने सदस्यको संख्या बढ्नेसमेत दाबी गरेका छन् ।
कांग्रेस महासमिति बैठक सोमवारदेखि काठमाडौंमा शुरु हुँदैछ । लक्ष्मण घिमिरे, लोकेश ढकाल लगायतका नेताले महासमिति बैठकमा हिन्दूराष्ट्रको पक्षमा निर्णय लिन माग गर्दै अभियान शुरू गरेका छन् ।
पूर्वमहामन्त्री डा शशांक कोइरालाले पनि कांग्रेस हिन्दूराष्ट्रको पक्षमा उभिनुपर्ने बताउँदै आएका छन् ।
कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीले बौद्ध र किरातसहित ९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दू धर्म-संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा धर्मनिरपेक्षताको पक्षमा उभिएकोप्रति केन्द्रीय सदस्यहरूले गम्भीर आपत्ति जनाएका छन् ।
‘पार्टीका महासमिति सदस्यहरूले धर्मनिरपेक्षताको विपक्षमा वैदिक सनातन हिन्दूराष्ट्र नेपाल कायम गर्न त्रिवेणी धाममा भएको महासमिति बैठकमा व्यापक हस्ताक्षरसहित जोडदार रूपमा माग राखेको र काठमाडौंमा सम्पन्न महासमितिको बैठकमा बहुमत महासमिति सदस्यहरूले सनातन हिन्दूराष्ट्रको माग गर्दै प्रस्ताव पेश गरेको ऐतिहासिक तथ्यलाई स्मरण गराउन चाहन्छौं,’ प्रस्तावमा भनिएको छ,’ यसर्थ ७ फागुनदेखि प्रारम्भ हुने महासमिति बैठकका सन्दर्भमा जारी कांग्रेसका केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत राजनीतिक दस्तावेजहरूमा वैदिक सनातन धर्मजस्तो बहुमत महासमिति सदस्यको भावना र आम नेपाली जनताको व्यापक चासो र चिन्ताको विषयलाई छलफलमा नल्याइएप्रति चिन्तित हुँदै हामी कांग्रेसका केन्द्रीय कार्यसमितिका सदस्यहरूले महासमितिको वैठकबाट छलफल गरेर सनातन हिन्दूराष्ट्रको पक्षमा पार्टी दृढतापूर्वक उभिन यो कार्यसमिति बैठकमा पुरक प्रस्तावको रूपमा वैदिक सनातन हिन्दूधर्मको पक्षमा यो प्रस्ताव पेश गरेका छौं ।’

