
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको आवश्यकता आर्थिक समृद्धि, विकास र शान्ति रहेको बताएका छन् ।
वृहत् काभ्रेपलान्चोक कृषि महोत्सव २०८० को अवसरमा शुक्रवार काभ्रेमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।
मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याए ।
'गरिबीको रेखाभित्र परेका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा भएको हुँदा यी क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता मैले देखेको छु', राष्ट्रपति पौडेलले भने ।
निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको उनले स्पष्ट पारे । 'मुलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औद्योगिकिकरणको मार्ग प्रशस्त गरी आर्थिकरुपमा समृद्ध नेपालको निर्माण गर्न सक्छौ, जुन संघीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट पनि हो भन्ने मलाई लाग्दछ', राष्ट्रपति पौडेलले भने ।
उनले कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि, अभ्यास र रैथाने बालीको संरक्षण र संवर्द्धन गरी नयाँ पुस्तालाई परिचित गराउने तथा यसको ज्ञान र प्रविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।
'बढ्दो शहरीकरणको प्रभावबाट छायाँमा परेका पौष्टिक महत्व भएको हाम्रो मौलिक उत्पादनबारे जनचेतना र जागरण अभियान चलाएर यसको उत्पादनलाई बढावा दिनेतर्फ पनि उत्तिकै ध्यान दिनु जरुरी छ', उन भने ।