२५ जेठ २०८३, सोमबार

आफूमाथि लागेका आरोपबारे के भने कृष्ण कँडेलले ?

फागुन ४, २०८०
काठमाडौं
आफूमाथि लागेका आरोपबारे के भने कृष्ण कँडेलले ?

गायक एवं इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले आफूलाई सिध्याउने प्रयास सुरु भएको बताएका छन् । 

शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आफूले इन्द्रेणीका कोही पनि कलाकारमाथि अन्याय नगरेको बताए ।

इन्द्रेणीमा काम गरेका केही कलाकारहरूले कंडेलले आफूहरुमाथि अन्याय गरेको आरोप लगाएका थिए ।  सोही आरोपबारे प्रष्टीकरण दिँदै कंडेलले आफूले कसैमाथि अन्याय नगरेको बताएका हुन् ।

‘पाँचजना कलाकारहरू बाहिर गएर यसले साह्रै अत्याचार गर्यो, शोषणै शोषण गर्यो भन्दै रुँदै कराउँदै गरेको देख्दा मलाई साह्रै दुख लाग्यो’ कंडेलले भने, ‘यही थियो त रुने ठाउँ । यहाँ कयौँ मान्छे दिनका दिन रुदैं आउनुहुन्छ । मैले कसैको पीडामा अन्याय गरेको छु र ? मैले कुनै एकजना कर्मचारीलाई निकालेको रेकर्ड छ भने त्यो मान्छेको आवाज दिलाउनुहोस् ।’ 

कंडेलले ह्यासमेन्ट गरेको आरोप समेत कलाकार शर्मिला श्रेष्ठले लगाएकी थिइन् । त्यस विषयमा प्रष्टीकरण दिँदै कंडेलले ‘आफूले ह्यासमेन्ट गरेको भए ३ वर्ष किन त्यत्तिकै बसेको ?’ भनेर प्रश्न गरे । 

अगाडि भने, ‘शर्मिला बहिनी ! यदि मैले तपाईंलाई ह्यारेसमेन्ट गरेको थिएँ भने तीन वर्ष तपाईले के हेर्नुभयो भन्नुस् त ? म विदेश जाँदा तपाईंले त मलाई एयरपोर्टमा आएर ‘मेरो भगवान दाइ’ भन्दै ढोग गर्नुभएको थियो । अहिले राक्षस भन्नुहुन्थ्यो भने त्यो बेला किन भगवान भन्नुभयो ? त्यही बेला मलाई तैँले यसो गरिस् भन्नुपर्दैन ?’ 

उनले आफूले आर्थिक कारणले इन्द्रेणीमा कार्यरत कर्मचारीहरूलाई स्थायी रूपमा राख्न नसक्ने भएपछि सबैलाई करार गरेको बताए । त्यसैअनुसार आन्तरिक विधान बनाएको र वकिल राखेर सबैलाई हस्ताक्षर गराएको उनले बताए । 

जहिले कार्यक्रम पर्छ, त्यही दिन बोलाउने र सोहीअनुसार पारिश्रमिक दिनेगरी निर्णय गरिएको उनले बताए । सोही निर्णयपछि नेगेटिभ स्टाटसहरू आउन सुरु भएको कंडेलको भनाई थियो । पत्रकार सम्मेलनमा कंडेलले आफूले अन्याय गरेको भए कानुनी प्रक्रियामा जान पनि आग्रह गरे । आर्थिक हिसाबकिताब पनि पारदर्शी रहेको उनले दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्