
नेपाली कांग्रेसका युवा नेताहरूले फागुन ७ देखि १० गतेसम्म चल्ने महासमिति बैठकलाई कर्मकाण्डी मात्र नबनाउन आग्रह गरेका छन् ।
पार्टीको महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका लागि महासमिति सदस्यहरूले शुक्रवार बोलाएको वृहत् भेलामा युवा नेताहरूले पार्टीका आन्तरिक समस्या, देशका राष्ट्रिय समस्या र जनजीविकाका सवालमा गम्भीर रुपमा बहस गर्नुपर्ने बताएका हुन् ।
राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना गरिएको कार्यक्रममा गोदावरीमा हुने महासमिति बैठकमा उठाउनुपर्ने विषयका साथै एजेन्डाहरूका विषयमा विशेष छलफल भएको हो ।
भेलामा नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले अब पार्टी पुरानै पाराबाट चल्न नसक्ने बताए ।
‘यो परिणाममुखी र उपलब्धिमूलक हुनुपर्छ । अब पार्टीमा काखापाखा हुनु भएन, नेताको नजिक भएको आधारमा होइन कि कामको आधारमा मूल्याङ्कन र क्षमताको आधारमा जिम्मेवारी दिनुपर्छ’, शाहीले भने, ‘निर्वाचन प्रणालीमा परिवर्तन, समान तथा न्यायोचित अवसर, एउटा व्यक्ति मात्रै बाराम्बार सांसद र मन्त्री किन ? पार्टीमा अब सबैलाई उत्तिकै र बराबर अवसर हुनपर्छ ।’
कार्यक्रममा युवा नेताहरू देवराज चालिसे, मेदनी सिटौला, ऋषिराम घिमिरे, उज्वल बराल, विनोद बान्तवा, बर्मा लामा, गोमा केसी, तारा कोइराला, नारायण भट्टराई, मैना कार्की, खगेन्द्र मल्ल, रिता शाही, बलबहादुर कुँवर, प्रेमिका राना, विजुल्ला बर्मा, धर्मेन्द्र नेम्वाङ, टेकराज पौडेल, रेखा यादव, विनोद खनाल, देवकी गौतम, मनोहरि श्रेष्ठ , नकुल अर्याल, मोतीलाल भण्डारी, ईश्वर पाठक, सुधांसु कोइराला लगायत सहभागीहरूले संसदीय निर्वाचनको २ वर्ष अघि महाधिवेशन गर्न माग गरेका छन् ।
आमचुनावको दुई वर्षअघि नै अनिवार्य महाधिवेशन गर्ने गरी विधानमै व्यवस्था गरिनु पर्ने, महासमितिको बैठकबाट महाधिवेशनको कार्यतालिका घोषणा गर्नुपर्ने माग उनीहरूले गरेका छन् । यसैगरि पार्टीका केन्द्रीय स्दस्यहरू पनि वडाबाटै चुनिएर आउनुपर्नेमा सबैको जोड रहेको थियो।
त्यस्तै पञ्चायतदेखि गणतन्त्रसम्म सार्वजनिक पदमा बस्ने उच्च तहका कर्मचारीदेखि नेताको सम्पत्ति छानबिन आयोग गठन, विदेश पलायन, वेरोजगारी, आर्थिक अवस्था, जनताको दुःख पीडाका विषयमा सम्बोधन गर्ने गरी यि एजेन्डाहरूमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव उनीहरूले गरेका छन् ।
यस्तै, २/२ वर्षमा वडा अधिवेशन, जातीय/धार्मिक विवादमा पर्न नहुने, गठबन्धन गर्न नहुने, भातृ संस्थालाई प्रभावकारी बनाउन तत्काल महाधिवेशन गर्ने गरी पार्टीलाई मजबुत बनाउन संगठन सुधारका लागि पनि महासमितिले विशेष पहल गर्नुपर्ने सहभागी नेताहरूले जोडदार रुपमा आवाज उठाएका छन् ।