
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकमा पेश हुने विभिन्न दस्तावेज केन्द्रीय कार्यसमिति बैठकबाट पारित गरेको छ ।
केन्द्रीय समितिले उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डा। प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेद्वारा प्रस्तुत लेखा परिक्षण प्रतिवेदन पारित गरेको हो ।
००००
जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुई महिनाका लागि शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले फागुन ५ देखि बढीमा २ महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, घेराउ, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेका हुन् ।
००००
बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधान एव गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन पेश गरेको छ।
शुक्रवार प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले सत्यतथ्य जाँचबुझ गरेर आयोगले तयार पारेका निष्कर्षलाई कार्यान्वयन गरिने बताए ।
गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी, अछामका वीरेन्द्र शाह र महाबु, दैलेखका सुजन रावतको मृत्यु भएको थियो
। आयोगले घटनाको मुख्य जिम्मेवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला भएको निष्कर्ष निकालेको एक् अधिकारीले जानकारी दिए । यस्तै फिल्ड कमाण्डर डीएसपी उमेश लम्साललाई पनि दोषी देखाइएको छ ।
००००
बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विशेष अदालतको आदेश विवादमा तानिएको छ ।
कर्मचारीलाई फसाउने र नेता चोख्याउने गरी आएको फैसला राजनीतिप्रेरित रहेको टीकाटिप्पणी शुरू भएको हो । विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारू नेतृत्वको इजलासले बिहीवार ललितानिवास जग्गा हिनामिना प्रकरणको आदेश सुनाएको थियो ।
००००
गायक एवं इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले आफूलाई सिध्याउने प्रयास सुरु भएको बताएका छन् ।
शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आफूले इन्द्रेणीका कोही पनि कलाकारमाथि अन्याय नगरेको बताए ।
इन्द्रेणीमा काम गरेका केही कलाकारहरूले कंडेलले आफूहरुमाथि अन्याय गरेको आरोप लगाएका थिए । सोही आरोपबारे प्रष्टीकरण दिँदै कंडेलले आफूले कसैमाथि अन्याय नगरेको बताएका हुन् ।
‘पाँचजना कलाकारहरू बाहिर गएर यसले साह्रै अत्याचार गर्यो, शोषणै शोषण गर्यो भन्दै रुँदै कराउँदै गरेको देख्दा मलाई साह्रै दुख लाग्यो’ कंडेलले भने, ‘यही थियो त रुने ठाउँ । यहाँ कयौँ मान्छे दिनका दिन रुदैं आउनुहुन्छ । मैले कसैको पीडामा अन्याय गरेको छु र ? मैले कुनै एकजना कर्मचारीलाई निकालेको रेकर्ड छ भने त्यो मान्छेको आवाज दिलाउनुहोस् ।’
कंडेलले ह्यासमेन्ट गरेको आरोप समेत कलाकार शर्मिला श्रेष्ठले लगाएकी थिइन् । यस्तै कँडेलले आफ्नो चरित्र हत्या भएको भन्दै जिल्ला अदालत काठमाडौँमा गाली बेइज्जतको मुद्दा समेत दर्ता गराएका छन् ।
००००
नेपाली कांग्रेसका २२ जना केन्द्रीय सदस्यले आशन्न महासमिति बैठकमा सनातन हिन्दूराष्ट्रको पक्षमा निर्णय लिन भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई हस्ताक्षर बुझाएका छन् । शुक्रवार बसेको केन्द्रीय समिति बैठकमा केन्द्रस्य सदस्य शंकर भण्डारीसहित २२ सदस्यको हस्ताक्षर बुझाएका हुन् ।
हस्ताक्षर गर्नेमा देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, शुक्रराज शर्मा, इन्द्रबहादुर बानियाँ, दिलेन्द्रप्रसाद बडू र रंगमति शाही छन् । यसैगरी विद्या तिमल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंगबहादुर सिंह, सीताकुमारी रानालगायत छन् ।
००००
दुग्ध विकास संस्था (डीडीसी)का महाप्रबन्धक सञ्जीव झालाई क्रान्तिकारी युवा संगठन नेपालका नेता कार्यकर्ताहरूले कालोमोसो दलेका छन् ।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट संगठनका कार्यकर्ताहरूले महाप्रबन्धक झालाई शुक्रवार बिहान कार्यकक्षमै पुगेर कालोमोसो दलेका हुन् ।
००००
अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी वर्ष २०८१÷८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकिएको जानकारी दिएका छन् ।
शुक्रवार अर्थमन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महतले राष्ट्रिय योजना आयोगबाट बजेटको सिलिङ तोकिएकोबारे आफूलाई जानकारी आएको बताएका हुन् ।
‘राष्ट्रिय योजना आयोगले १८ खर्बको सिलिङ दिएको जानकारी आएको छ, आवश्यकता कति छ र सम्भावना कति छ भन्ने कोणबाट हामीले छलफल गरिरहेका छौं,’ उनले पत्रकारसम्मेलनका क्रममा भने ।