
विपन्न र गरिब समुदायलाई कपडा प्रदान गर्न बुटवलमा 'क्लोथ बैंक' सञ्चालनमा ल्याइएको छ ।
'क्लोथ बैंक'को शनिवार उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, महानायक राजेश हमाल लगायतले उद्घाटन गरेका हुन् ।
सो अवसरमा बोल्दै नगरप्रमुख पाण्डेयले क्लोथ बैंकमा जम्मा हुने कपडाले दुखी र विपन्न वर्गलाई न्यानो प्रदान गर्न सकिने बताए ।
उनले बुटवल उपमहानगरपालिका सबै नागरिकहरू प्रति सचेत भएको बताउँदै क्लोथ बैंक सञ्चालनपछि विपन्न र गरिब वर्गका लागि सहज हुने विश्वास व्यक्त गरे ।
केही दिन अघि मात्र बुटवल उपमहानगरपालिका रुपन्देही र क्लोथ एण्ड फूड बैंक नेपालबीच क्लोथ बैंक सञ्चालन गर्ने सम्झौता भएको थियो ।
सम्झौतापछि शनिवार औपचारिक रुपमा बुटवलमा क्लोथ बैंक सञ्चालनमा आएको हो । बुटवल नगरका विभिन्न उपयुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरूलाई पुन: प्रशोधन रि–साइकल गरेर आवश्यकताका आधारमा वितरण गरिनेछ ।
कार्यक्रममा महानायक राजेश हमालले समाज परिवर्तनका लागि युवा समूहले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै उक्त कार्यमा आफू संलग्न हुन पाउँदा खुसी लागेको बताए । कुनै पनि व्यक्तिका लागि आवश्यक नभएको कपडा अरूलाई आवश्यक पर्ने भन्दै क्लोथ बैंकमा आफूलाई आवश्यक नपर्ने कपडा जम्मा गरिदिन सबैलाई आग्रह गरे ।
क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जीसीले देशका सातै प्रदेशमा सञ्चालन हुन लागेको यो अभियानको बुटवलबाट औपचारिक शुभारम्भ भएको बताए ।
अध्यक्ष जीसीले आगामी दुई वर्षमा कपडाविहीन मुक्त बनाउने र २०८२ सम्ममा देशभर फूड एम्बुलेन्ससमेत सञ्चालन गर्ने योजना बनाएको बताए । उनका अनुसार अहिलेसम्म १५४ स्थानीय तह यो अभियानमा जोडिएका छन् ।