
नेपाल साहित्य महोत्सवको ‘ब्रेन गेन : फर्केर के गर्ने ?’ सत्रमा वक्ता स्वर्णिम वाग्ले र शृङ्खला खतिवडा आफ्नो विद्वतासहित प्रस्तुत भए । उनीहरु दुवै विदेशमा ज्ञान, सीप र अनुभव आर्जेर स्वदेश फर्कनेमध्येमा पर्छन् ।
पोखराको फेवाताल किनारस्थित बाराहीघाटमा जारी महोत्सवमा वाग्ले र खतिवडालाई सुन्न दर्शकको उल्लेख्य उपस्थिति रह्यो । पत्रकार सोनिया अवालेले युवाहरुको पलायनलाई कसरी रोक्ने ? भविष्यको खोजीमा देश छाडिरहेका युवाहरू नेपाल फर्केर के गर्ने ? जस्ता सवालमा वाग्ले र खतिवडाबीच बहस गराइन्।
प्रतिनिधिसभा सदस्य समेत रहेका अर्थशास्त्री वाग्ले र अमेरिकाको विश्वविद्यालयमा सहरी विकाससम्बन्धी विषय अध्ययन गरी स्वदेश फर्किभएकी पूर्वनेपाल सुन्दरी खतिवडाले नेपाली युवाको विदेश पलायनको बाध्यता र उनीहरूलाई स्वदेश फर्काउने उपायबारे मन्थन गरे ।
वाग्लेले नेपाली आप्रवासी तीन किसिमका रहेको भन्दै उनीहरूलाई स्वदेशसँग जोड्न छुट्टाछुट्टै रणनीति तय गर्नुपर्ने धारणा राखे । स्थायीरूपमै विदेश बसोबास थालेका र नेपाली नागरिकता त्यागेकालाई सांस्कृतिक सामित्यताका माध्यमबाट नेपालसँग जोड्न सकिने उनको भनाइ थियो । “दूतावासहरूमार्फत उनीहरूलाई बेलाबेला नेपाल ल्याउने, नेपाली भाषा सिकाउने, पर्यटकीयस्थल घुमाउन पनि सकिन्छ”, उनले भने, “यसले नेपालसँगको सांस्कृतिक र भावनात्मक सामिप्यता बढाउन सघाउ पुर्याउँछ ।”
विदेशमा र नेपालमा पनि केही गर्न चाहनेका लागि आर्थिक, राजनीतिक अधिकारसहित काम गर्ने उचित वातावरण सिर्जना गरिनुपर्नेमा वाग्लेको जोड थियो ।
विदेशमा अस्थायीरूपमा रोजगारी गरी स्वदेश फर्कनेलाई उनीहरूले ल्याउने सीप र पुँजीको सदुपयोग हुने वातावरण राज्यले सिर्जना गरिदिनुपर्ने वाग्लेको भनाइ छ ।
आजको भूमण्डलीकृत विश्वमा मानिसलाई यत्तिकै एक देशबाट अर्को देशमा जानबाट रोक्न नसकिने वाग्लेले बताए ।
खतिवडाले नेपालमा कुनै भविष्य छैन भनेर नकारात्मक भाष्य सिर्जना गर्न खोजिएको धारणा राखिन् । अमेरिकामा पढाइ सिध्याएर एकदिन पनि बढी नबसी आफू नेपाल फर्किएको उनको भनाइ छ । “आर्थिकरूपमा सुरक्षित भएकाले पनि मलाई नेपाल फर्कन सहज भयो, सबैको उही अवस्था पक्कै छैन, अहिले नै युवाहरूलाई स्वदेश फर्कनुस् भन्न सकिने स्थिति छैन”, खतिवडाले भनिन्, “युवाहरू स्वदेश फर्कन त चाहन्छन्, उनीहरूले आर्थिक सुरक्षा खोजिरहेका छन्, जुन नेपालमा छैन ।”
खतिवडाले आफू पनि विदेशमै बसेको भए युवाहरूमा थप निराशा बढ्न सक्ने बताइन् ।
सरकारले रोजगारी दिएन भनेर बढी गुनासो उठ्ने गरेको भन्दै उनले रोजगारी सिर्जनाका लागि राज्यले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने धारणा राखिन् । “सरकारले रोजगारी दिने होइन, निजी क्षेत्रलाई सहयोग गर्ने हो, रोजगारी निजी क्षेत्रले सिर्जना गर्छ”, उनले भनिन्।
रोजगारीको खोजीमा विदेशिनु नेपालीका लागि संस्कृति र प्रवृत्ति नै बनेको खतिवडाले सुनाइन् । रासस