
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ललितपुरको बालकुमारीमा पुस १३ गते भएको घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सभापति लामिछानेले छानबिन समितिले मन्त्री ज्वालालाई दोषी देखाएको सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जाँच लिन चाहेको बताएका हुन् ।
‘बालकुमारीमा २ जनाको हत्या भएको घटनालाई हामीले सामान्य रूपमा लिएका छैनौं । छानबिन समितिले निष्कर्ष निकाल्यो, भौतिक पूर्वाधार तथा यातायात मन्त्री दोषी रहेको प्रतिवेदनले स्पष्ट गरिसक्यो । न सम्बन्धित मन्त्रीले नैतिकता देखाउनुभएको छ, न प्रधानमन्त्रीले (बर्खास्त) गर्नुभएको छ,’ लामिछानेले भने, ‘के गर्ने हो ? प्रधानमन्त्री प्रचण्डले यही संसद्को रोस्ट्रमबाट बोल्नुपर्नेछ । छानबिन समितिले दोषी देखाएका मन्त्रीलाई के गर्ने हो ? हाम्रो माग छैन । प्रधानमन्त्रीले जाँच दिनुहुनेछ ।’
कोरियन भाषा परीक्षाको विषयलाई लिएर बालकुमारीमा भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा २ युवाको मृत्यु भएको थियो । मन्त्री ज्वाला आन्दोलन भएको स्थानमा पुग्दा उनको गाडीमा आगजनी समेत भएको थियो । मन्त्रीको गाडीमा आगजनी भएकाले बल प्रयोग गर्नुपरेको दाबी प्रहरीले गरेको थियो ।