
संसद्का विपक्षी दलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै अन्यथा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग गरेका छन् । आइतवार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक र शून्य समयमा विपक्षी दलले मन्त्री ज्वालाको राजीनामा माग गरेका हुन् ।
आकस्मिक समयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले बालकुमारी घटना छानबिन गर्न गठित समितिले मन्त्री ज्वालालाई दोषी देखाएको भन्दै तत्काल बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराए ।
‘बालकुमारी घटनामा मन्त्रीको संलग्नताको विषय छानबिन आयोगले दिइसकेको अवस्थामा मन्त्रीलाई झण्डा र सिपाहीलाई डण्डा हामीलाई मान्य छैन,’ उनले भने ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोस्टमबाटै जवाफ दिनुपर्ने बताए । ‘के गर्ने हो ? प्रधानमन्त्री प्रचण्डले यही संसद्को रोस्टमबाट बोल्नु पर्छ । छानबिन समितिले दोषी देखाएका मन्त्रीलाई के गर्ने हो ? हाम्रो माग छैन । प्रधानमन्त्रीले जाँच दिनु हुनेछ ।’
शून्य समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपकबहादुर सिंहले बालकुमारी घटनामा मन्त्री ज्वाला दोषी ठहर भएको प्रतिवेदन आइसकेको समयमा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताए ।
पुस १३ गते बालकुमारीमा कोरिया जान नपाएका युवाले गरेको प्रदर्शनमा मन्त्रीको गाडी पुग्दा झडपको स्थिति आएको थियो । त्यसक्रममा प्रहरीको गोली लागि दुईजना युवाको मृत्यु भएको थियो भने मन्त्रीको गाडी जलाइएको थियो ।