
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी स्रोत बढाउन सरकारले विशेष पहल गरिरहेको बताएका छन् । खासगरी राजस्व प्रशासनमा थप सुधार गर्ने र विदेशी सहायताको परिचालन बढाउनेतर्फ पहल भइरहेको उनको भनाइ छ ।
प्रतिनिधि सभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले राजस्व छली, अवैध व्यापार र कारोबार नियन्त्रण गर्न अब विशेष योजनासहित सरकार कडा रुपमा प्रस्तुत हुने बताए ।
प्रधानमन्त्री प्रचण्डले अहिले अर्थतन्त्रका कतिपय परिसूचकहरू सकारात्मक रहेको बताए । तर केही क्षेत्रमा अझै समस्या रहेको उनको भनाइ छ ।
‘अर्थतन्त्र पूर्णरुपमा चलायमान भइसकेको छैन । एक वर्ष अघि शोधनान्तर घाटा उच्च विन्दुमा पुगेको थियो’, प्रधानमन्त्री प्रचण्डले भने, 'विदेशी मुद्राको सञ्चिति न्यून विन्दुमा झरेको थियो । बैंकिङ क्षेत्रमा तरलताको अभाव रहेको, ब्याज दर उद्योगी–व्यवशायीले धान्न नसक्ने तहमा पुगेको र मूल्य वृद्धि पनि उच्च रहेको अवस्था थियो । तर आज म सम्मानित सदनलाई ढुक्कले भन्न सक्छु, अर्थतन्त्र सङ्कटमुक्त भएको छ ।’
हरेक मन्त्रालयहरूसँग सार्वजनिक सेवा प्रवाह, विकास निर्माण र त्यसको प्रभावकारिताका विषयमा दिनहुँ समाधानमुखी छलफल गरिरहेको जानकारी दिँदै प्रधानमन्त्रीले आगामी दिनमा यस्ता कार्यको सकारात्मक प्रभाव देखिने बताए ।