
नेकपा एमाले कैलालीको नवौं जिल्ला अधिवेशनअन्तर्गत अध्यक्ष पदका उम्मेदवार डेजी पाण्डेले आफ्नो जीत सुनिश्चित भएको दाबी गरेका छन् ।
आफ्नो पक्षमा ७० प्रतिशतभन्दा बढी प्रतिनिधि रहेको दाबी गर्दै पाण्डेले जीत निश्चित भइसकेको दाबी गरेका हुन् । ‘मेरो जीत निश्चितजस्तै हो । माहोल सबै मेरो पक्षमा छ । अन्य आकांक्षी साथीहरूले चुनाव नलड्दा पनि हुन्छ,’ पाण्डेले भने ।
कैलालीका कार्यबाहक अध्यक्ष दुर्गा जोशीले अन्तिम समयमा दाबी छाडेर आफूलाई सहयोग गर्ने पाण्डेको विश्वास छ । ‘जोशी सरले अन्तिम समयमा आफ्नो दाबी छाडेर मलाई सहयोग गर्ने सम्भावना छ, यदि त्यस्तो भएमा म झन् बलियो हुन्छु,’ पाण्डेले भने ।
एमालेलाई दरिलो शक्ति बनाउन आफू अगाडि सरेको बताउँदै उनले समर्पण भएका पार्टी नेता/कार्यकर्ता र प्रतिनिधिले अगाडि बढ्न सुझाव दिएकाले अघि सरेको बताए ।
पार्टीको नेतृत्वमा पुगेमा नेता/कार्यकर्ताको विश्वास टुट्न नदिने उनको दाबी छ ।
‘नेकपा एमालेलाई जनताको बीचमा दरिलो शक्ति बनाउन समर्पण भएका कार्यकर्तालाई नेता बनाउनुपर्छ भन्ने कुरामा मेरो जोड रहन्छ । पार्टीको नीति, विचार र कार्यक्रम लागू गर्नका लागि मैले जित्नु आवश्यक छ,’ पाण्डेले भने
एमालेमा झन्डै तीन दशक बिताइसकेका पाण्डे अहिले राजनीतिसँगै सिर्जनशील कृषि कर्ममा पनि व्यस्त छन् ।
कैलालीको मध्यक्षेत्र सुख्खडमा जारी नवौं जिल्ला अधिवेशनबाट नेतृत्वका लागि पाण्डेसहित यज्ञराज ढुंगाना र दुर्गा जोशीले दाबी गरेका छन् ।
ढुंगाना पूर्व प्रदेश कमिटी सचिवालय सदस्य हुन् भने जोशी कार्यबाहक जिल्ला अध्यक्ष र पाण्डे सचिव हुन् । उनीहरू बाहेक कैलाली जिल्ला उप–सचिव ममताप्रसाद चौधरीले पनि अध्यक्ष पदका लागि आकांक्षा देखाएका छन् ।