
काठमाडौं २२ असोज– मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको चुनावमा तालमेलको गृहकार्य गरिरहेका वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धन उम्मेदवारको भागवण्डा मिलाउन व्यस्त छन् । कार्यदलका औपचारिक, अनौपचारिक बैठक बसिरहेका छन् ।
तीन दिनभित्र उम्मेदवारको निर्वाचन क्षेत्र टुंगो लगाउने निर्णय गरेका नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको कार्यदलले आइतवारसम्म सहमति जुटाउन सकेको छैन । एमाले र माओवादी केन्द्रबीच ६०/४० को हिस्सामा भागवण्डाको सहमति भएपनि कुन क्षेत्रमा को लड्ने भन्नेमा अझै सहमति जुटाउन सकेका छैनन् ।
नेपाली कांग्रेसको नेतृत्वमा बन्ने भनिएको लोकतान्त्रिक गठबन्धनले पनि उम्मेदवारको भागवण्डा मिलाउन सकेको छैन् । लोकतान्त्रिक गठबन्धनमा सामेल हुन खोजेका दलले हैसियत भन्दा धेरै सीट दावी गरेपछि गठबन्धन निर्माण अप्ठेरोमा परेको हो ।
लोकतान्त्रिक गठबन्धनमा सहभागि हुन लोकतान्त्रिक फोरम र राप्रपाले प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तर्फ समान २० सिट दावी गरेका छन् । लोकतान्त्रिक गठबन्धनमा सहभागि हुने भनिएका दलका कतिपय नेताहरु भने वामपन्थी गठबन्धनसंग पनि कुरा गरिरहेका छन् ।
एमाले र माओवादीबीच वामपन्थी गठबन्धन भएपछि कांग्रेस, मधेस केन्द्रित तीन दल र दुइ राप्रपा सहभागि भएर लोकतान्त्रिक गठबन्धन निर्माणको गृहकार्य भएको थियो । प्रस्तावित लोकतान्त्रिक गठबन्धनले सरकारको पक्षमा बहुमत जुटाएर सरकार पुर्नगठनको समेत तयारी गरिरहेको छ ।
संघीय समाजवादी फोरम र राजपाले चुनावमा छुट्टै तालमेल गर्ने सहमति गरेका छन् । दुईदलले कांग्रेस समक्ष आइतवार सीट संख्याको बारेमा प्रस्ताव राखेका छन् ।
लोकतान्त्रिक कार्यदलका ६ बैठकलोकतान्त्रिक गठबन्धनले साझा कार्यक्रम र दीर्घकालिन लक्ष सहित काम गरिरहेको कार्यदलका एक सदस्यले बताए । ‘लोकतान्त्रिक गठबन्धनको न्युनतम साझा कार्यक्रमको अवधारणा पत्र तयार हुदैछ’ कार्यदलमा राजपा सदस्य शर्वेन्द्रनाथ शुक्लले लोकान्तरसंग भने, ‘साथसाथै सीट संख्याको बिषयमा पनि कुरा भएको छ ।’
सीट संख्याबारे बाहिर कुरा नआएपनि फोरम र राजपाले प्रदेश नम्बर २ मा ५० प्रतिशत मागेका छन् । ‘कति प्रतित भन्ने कुरा भएको छैन, कुन प्रदेशमा कुन सिद्धान्तमा जाने भन्नेबारे छलफल चलाएका छौं’ शुक्लले भने ।