
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विवादमा तानिएका तीन मन्त्रीको राजीनामा माग गर्दै संसद्मा पुन: प्रधानमन्त्रीको जवाफ माग गरेको छ ।
सोमवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै आकस्मिक समय लिएर एमाले सांसद गोकुल बास्कोटाले तीनजना मन्त्रीको राजीनामा सम्बन्धमा आजै संसदमा जवाफ दिनुपर्ने माग दोहोर्याए ।
ललिपुरको बालकुमारीमा पुस १३ गते भएको घटनामा छानबिन आयोगले दोषी ठहर्याएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा अख्तियारमा बयान दिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र पुरातात्विक क्षेत्र रामग्रामलाई व्यक्तिको जिम्मा लगाउन खोज्ने संस्कृति मन्त्री सुधन किराँतीले राजीनामा गर्नुपर्ने माग गर्दै आएको छ । ‘प्रधानमन्त्रीले संसद्मा आजै जवाफ दिनुपर्छ, हामीले गफ सुन्न चाहेका छैनौं’ बास्कोटाले संसदमा भने ।