
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले यही फागुन मसान्तभित्र प्रतिवेदन प्रस्तुत गर्ने गरी अवधि थप गर्न सरकारसमक्ष अनुरोध गरेको छ ।
आयोगले यही फागुन १५ गतेभित्र प्रतिवेदन प्रस्तुत गर्न केही समय नपुग भएकाले समयावधि थपका लागि गृहमन्त्रालयमार्फत नेपाल सरकारसमक्ष अनुरोध गरेको हो ।
आयोगका अध्यक्ष डिल्लीराज आचार्यका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट सङ्कलन भएका केही थप प्रमाण र तथ्य प्राप्त भएका छन् । त्यसको अध्ययन, विश्लेषण र केही निकायबाट विवरण तथा जवाफ प्राप्त भइनसकेको उनले जानकारी दिए ।
प्रतिवेदन लेखनमा ढिलाइ ढिला भएको आयोगले जनाएको छ ।
आयोग प्राप्त प्रमाणको अध्ययन, विश्लेषण र प्रतिवेदन तयारीमा रहने हुँदा यो अवधिलाई आयोगको मौन अवधिका रुपमा बुझ्न पनि उनले आग्रह गरेका छन् ।
आयोगले फागुन मसान्तभित्रै सरकारसमक्ष प्रतिवेदन पेस गर्ने उनको भनाइ छ ।
सरकारले गत असोज १५ गते सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० गठन गरेको थियो ।
आयोगलाई तीन महिनाभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको थियो । तीन महिनामा अध्ययन नसकिएपछि आयोगलाई दुई महिनाको समय थप गरिएको थियो ।