
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय माध्यमिक विद्यालय लौकही, सुनसरीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विद्यालयमा अनुपस्थित भएको समयको समेत तलब भत्ता लिएको अभियोगमा प्रधानाध्यापक यादवसहित भोलि यादव, वीरेन्द्रप्रसाद यादव र शिक्षक बालेश्वर यादवविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार विद्यालयका प्राथमिक शिक्षक बालेश्वर यादवले आफू अध्ययन बिदामा बसेको अवधिको समेत तलब भत्ता सुविधा लिएको उजुरी आयोगमा परेको थियो ।
सोही उजुरीका आधारमा अनुसन्धान गर्दा उनले ९१ दिनको फर्जी हाजिरी गरेर १ लाख ३० हजार ८४३ रुपैयाँ तलब भत्ताको लिएको पुष्टि भएको थियो ।
आयोगले उनीविरुद्ध हदैसम्मको कैद तथा बिगो बमोजिम जरिवानाकाे सजायको मागदाबी गरेको छ ।
यस्तै आयोगले तत्कालीन प्रधानाध्यापकहरू धनीलाल यादव (हाल अवकाश प्राप्त), भोलि यादव (हाल अवकाश प्राप्त) र वीरेन्द्रप्रसाद यादवले पदीय दुरुपयोग गरेर तलब भत्ता दिएकाले मतियार बनाएर मुद्दा दायर गरेको छ ।
प्रधानाध्यापकहरू धनीलाल यादवलाई ६४ हजार ९ सय, भोलि यादवलाई ३३ हजार ६१८ र वीरेन्द्रप्रसाद यादवलाई ३२ हजार ३२४ रुपैयाँ बिगो कायम गरी मुख्य कसुर दारलाई हुने सजाय बराबरको कैद तथा बिगो बमोजिम जरिवानाको मागदाबी आयोगले गरेको छ ।