
त्रिदेशीय टी–२० श्रृंखलाअन्तर्गत नेदरल्यान्ड्ससँग नेपाल झिनो अन्तरले पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधवार भएको खेलमा नेपाल २ रनको झिनो अन्तरले पराजित भएको हो ।
१८५ रनको लक्ष्य पछ्याएको घरेलु टोली नेपालले पूरै ओभर खेलेता पनि लक्ष्यमा पुग्न सकेन । उसले ८ विकेट गुमाएर १८२ रन बनाएको हो ।
यसरी नेपाल जीतनजिक पुगेर पनि २ रनले पराजित भएको हो । जीतका लागि नेपालका ब्याटरले अन्तिमसम्म पनि प्रयास गरेका थिए । तर सफल भएनन् ।
दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले अर्धशतक बनाए पनि त्यो नेपालको जीतका लागि पर्याप्त भएन ।
दीपेन्द्रले ३४ बलमा ६३ रन बनाए भने रोहितले ३६ बलमा ५० रन जाेडे ।

यस्तै, आरिफ शेखले ३४, करण केसी र कुशल मल्लले समान ११ र सन्दीप जोराले ८ जोडे । नेपालका ४ जना ब्याटरले खाता खोल्न सकेनन् । जसमा कुशल मल्ल, सोमपाल कामी, गुल्सन झा र प्रतिश जीसी छन् । गुल्सन र प्रतिश भने अविजित रहे ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको थियो ।
नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ५४ रन बनाएका थिए । यस्तै, सीब्राण्ड इङगेल्ब्रेच्टले ४९ र स्कट इडवार्डले ३३ रन जोडे ।
नेपालका लागि करण केसी र कुशल मल्लले १–१ विकेट लिए । २ जना भने रनआउट भएका थिए ।
मंगलवार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । नेपालको घरेलु भूमिमा यो दोस्रो खेलमा शतप्रतिशत हार हो ।