नेपाली सेनाको आयोजनामा पृतनापति समन्वयात्मक बैठक - २०८० हरू भएको छ ।
समन्वयात्मक बैठकको बुधवार शुभारम्भ गर्दै उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले बाह्य तथा आन्तरिक कारणबाट राष्ट्रिय सुरक्षामा देखा पर्नसक्ने चुनौतीको आकलन गर्न जरुरी रहेको बताए ।
उनले भू राजनीतिक अवस्थिति, शक्ति राष्ट्रको रणनीति र प्रतिस्पर्धा, भिन्न सिद्धान्त र राज्य व्यवस्था भएका छिमेकीको विश्व मञ्चमा बढ्दो उपस्थितिलगायत विषयले सुरक्षा वातावरणमा चुनौती थपेको बताए ।
उपप्रधानमन्त्री खड्काले आन्तरिक रुपमा विभिन्न स्वार्थ प्रेरित व्यक्ति र समूहको धार्मिक र सामाजिक सद्भाव बिथोल्ने एवं साम्प्रदायिक गतिविधिको सूक्ष्म विश्लेषण गर्दै सुरक्षा चुनौतीको सामना गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए ।
राष्ट्रिय सुरक्षामा विद्यमान चुनौतीका बारे छलफल गरी त्यस्ता चुनौतीको सामना गर्ने उपायहरू पहिल्याउन बैठक उपयोगी हुने विश्वास उनले व्यक्त गरे ।
नेपाली सेनाले विभिन्न परिस्थितिमा सीमित स्रोत तथा साधनको अधिकतम उपयोग गर्दै मुलुक र माटोका लागि गरेको त्याग प्रशंसनीय रहेको बताए ।
यस्तै उनले सेनाको साहस तथा पराक्रमको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक चर्चा हुने गरेको स्मरण गरे।
यस्तै, प्रधानसेनापति प्रभुराम शर्माले नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी तथा राष्ट्रिय सुरक्षा नीतिले औंल्याएका कार्यसँगै पर्यावरण संरक्षण, विपद् लगायतका सुरक्षा चुनौतीको सामना गर्न सधैं तयारी अवस्थामा रहनुपर्ने बताए ।
परम्परागत र अपरम्परागत खतराद्वारा सिर्जित सुरक्षा चुनौतीलाई सम्बोधन गर्नु आजको मुख्य आवश्यकता रहेको प्रधान सेनापतिको भनाइ थियो ।
तयारी अवस्थामा रहन एवं राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने विभिन्न विषयमा छलफल गर्न बैठक फलदायी हुने उनले विश्वास व्यक्त गरे ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार वर्तमान राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा परिस्थितिको विश्लेषण उनले गरे ।
यस्तै, प्रधानसेनापतिले नेपालको सीमानाभन्दा धेरै टाढा भइरहेका रुस तथा युक्रेनबीचको युद्ध, इजरायल तथा हमासबीचको युद्धलगायत गतिविधिले नेपालको आर्थिक तथा सामाजिक जीवनमा परिरहेको प्रभावले भूमण्डलीकरणको असरलाई प्रतिबिम्बित गरेको बताए ।
बैठकमा सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखका साथै पृतनापतिको सहभागिता छ।
बिहीवारसम्म चल्ने बैठकमा सहभागीले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यको समीक्षा एवं सुझाव प्रस्तुत गर्ने कार्यक्रम छ ।