![एकपछि अर्को गीतबाट मन जितिरहेका अर्जुन [भिडियो]](https://lktcdn2.prixacdn.net/media/arjun_sapkota_singer_1_YjvYxdtwlN.jpg)
लोक गायक अर्जुन सापकोटाले गाएका थुप्रै गीत हिट छन् । ‘बनकी चरी’, ‘पछ्यौरी लिसियो’, ‘फुल्यो गुराँस’, ‘दुई दुना चार’ जस्ता गीत युट्युबमा ‘करोड क्लबमा’ पुगिसकेका छन् । ‘पिरती नलाम मयाँ’, ‘डाँडैको टुनी’, ‘पानी परेको’जस्ता गीतलाई ५० लाखभन्दा बढीले हेरिसकेका छन् । अर्जुनले एकपछि अर्को गीतबाट स्रोता–दर्शकको माया पाइरहेका छन् ।
एक महिनाअघि सार्वजनिक ‘नसोध पिर के को ?’ गीतले पनि १३ लाख हाराहारी भ्युज पाएको छ । जुन भ्युजलाई लिएर उनी खुशी छन् । ‘अहिले धेरै गीतलाई भ्युजको खडेरी देखिएको छ । कलाकारहरू पनि आफ्नो गीतको भ्युज राम्रो नजाँदा गुनासो गर्नुहुन्छ,’ लोकान्तरसँग कुरा गर्दै उनले भने, ‘यस्तो अवस्थामा मेरो गीतले उक्त भ्युज पाउनु सन्तुष्टिको कुरा हो ।’
अर्जुन पश्चिमका धेरै जिल्लामा सांगीतिक प्रस्तुति दिएर केही दिनअघि मात्रै काठमाडौं आएका हुन् । यसबीचमा उनले केही नयाँ गीतको तयारी गरिरहेका छन् । लगत्तै उनी फेरि महोत्सवतिर पुगेस्रोता–दर्शकलाई झुमाउँदैछन् ।
उनलाई कार्यक्रममा पुगेर गीत गाउँदा छुट्टै आनन्द आउँछ । दर्शक–स्रोतासँग प्रत्यक्ष भेट हुन पाउँदाको खुशी त छँदैछ आफ्नो गीत कति चलेको छ भन्ने कुरा पनि मेला–महोत्सवमा पुग्दा महसुस हुने उनी बताउँछन् ।

जब स्टेजमा चढेर भाका हाल्छन्, दर्शकहरू पनि सँगसँगै गुनगुनाउन थाल्छन् । तब आफूले गाएका गीतहरू मन पराइएको रहेछ भनेर छुट्टै खुशी लाग्ने अर्जुन बताउँछन् । उनी स्टुडियोलाई मेहनत गर्ने ठाउँ ठान्छन् र स्टेजलाई मेहनतको फल महसुस गर्ने ठाउँमा रूपमा समेत लिने गरेको सुनाउँछन् ।
स्याङजामा जन्मिएका, नवलपुरमा हुर्किएका अर्जुनले सानैदेखि गाउन थालेका हुन् । पारिवारिक माहोलका कारण आफ्नो संगीततर्फ रुचि बढेको उनी बताउँछन् । ‘हजुरबुवाले पनि गीत गाउनुहुन्थ्यो । बाबा, अंकलहरूले पनि गीत गाउनुहुन्छ । परिवारमा पहिल्यैदेखि सांगीतिक माहोल भएकाले सबैले गाउन प्रेरित गर्नुहुन्थ्यो,’ उनले भने ।
२/३ पढ्दादेखि गाउन थालेका उनले विस्तारै टोल–छिमेकका कार्यक्रमहरूमा गाउन थाले । मेला–महोत्सवको स्टेज चढ्न थाले । उनले एसएलसीपछि जिल्लामा केही वर्ष रेडियोमा प्रस्तोता भएरसमेत काम गरे । त्यसअघि उनले काठमाडौं आएर पहिलो गीत रेकर्ड गराएका थिए । त्यो गीत धेरै नचले पनि त्यसको केही वर्षपछि देवी घर्तीसँगको यूगल स्वरमा सार्वजनिक ‘वनकी चरी’ले अर्जुनलाई स्रोता–दर्शकमाझ चिनायो ।
अर्जुन गीत लेख्छन् पनि । संगीत पनि भर्छन् । अनि म्युजिक भिडियोमा मोडलिङसमेत गर्छन् । पछिल्लो समय त उनी व्यवसायिक मोडलका रूपमा समेत रोजाइमा पर्न थालेका छन् । मोडलिङमा पनि उनको विशेष रुचि हो ? अर्जुनको रक्षात्मक जवाफ छ – ‘एउटा विद्यार्थी भइसकेपछि उसले घोक्न पनि पर्दोरहेछ । उसले सार्न पनि पर्ने हुनसक्छ । कहिले आफैंले जान्न पनि पर्छ । त्यस्तै सांगीतिक क्षेत्रमा भएपछि भिडियोमा देखिन पनि पर्दोरहेछ ।’

गायकले स्टेजमा 'पफर्म' गर्दा नृत्य पनि जान्दा सजिलो हुने उनको अनुभव छ । सुरुसुरुमा सिकाइको रूपमा आफ्ना गीतमा उनले नृत्य गरेका थिए । पछि अरुले पनि मोडलिङका लागि अफर गर्न थाले । ‘अलिअलि पहिल्यैबाट नाच्थेँ । विस्तारै आफ्नै गीतमा देखिँदै जाँदा अरुहरूले मेरो गीतमा पनि नाचिदिए हुन्थ्यो भन्न थाल्नुभयो,’ अर्जुनले भने, ‘कतिपयले यो गीत गाउनुभएको भन्दा यो गीतमा देखेको थिएँ भन्नुहुन्छ । अहिले जे धेरै पर्दामा आउँछ त्यो मान्छेले धेरै सम्झन्छ । यसलाई समयको माग पनि हो भन्छु ।’
अर्जुन सांगीतिक क्षेत्रमा सबैको नजरमा परेको धेरै वर्ष भएको छैन । कतिपयले उनलाई छोटो समयमै प्रगति गरेको गायक समेत भन्ने गर्छन् । तर, उनी दर्शकले केही हदसम्म रुचाउनुभन्दा अगाडिको संघर्ष पनि धेरै रहेको बताउँछन् ।
सांगीतिक क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ । ‘सबैभन्दा मुख्य कुरा स्रोता–दर्शकहरूलाई कस्तो सिर्जना चाहिने हो ? उहाँहरूलाई कस्तो सिर्जना मन पर्छ भनेर पढ्न अझै बाँकी छ,’ अर्जुनले भने, ‘गीत नोटिस गराउन गाह्रो छैन जस्तो लाग्छ । अहिलेको समय यस्तो छ कि अलिकति थोरै ‘बाङ्गो’ गरेपछि गीत चलेको पनि देखिन्छ । तर स्रोता–दर्शकमाझ कस्तो छाप राख्ने भन्ने कुरा आफ्नो हातमा हुन्छ । नजान्दा बरु सजिलो लाग्दो रहेछ । केही ज्ञान भए पनि साह्रो गाह्रो हुने रहेछ ।’
सांगीतिक क्षेत्रमा लाग्दै गर्दा कसैले गाउन लगाए गाइहाल्ने गरेको स्मरण गर्दै अर्जुनले थपे, ‘त्यो बेला बरु डर लाग्दैनथ्यो । अहिले बिग्रिने हो कि भनेर डर लाग्छ ।’
सोसल मिडियामा समेत राम्रो फ्यान फ्लोइङ कमाएका अर्जुनले प्रेमदेखि आफ्नो खर्चसम्मका विषयमा समेत लोकान्तरसँग खुलेर कुरा गरेका छन् ।
उनीसँगको पूरै कुराकानी तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।
तस्वीर/भिडियो: प्रकाश बुढाथोकी/लोकान्तर