
काठमाडौं, २३ असोज — चीनमा गधाको छालाको भारी मागका कारण उनीहरूको संख्या घट्दै गएको छ । त्यहाँ स्वास्थ्यवर्द्धक खानेकुरा र परम्परागत औषधि बनाउनका लागि गधाको छाला प्रयोग गरिन्छ ।

गधाको मासुको माग पनि उत्तिकै छ । तर गधाहरूको संख्यामा भएको कमी र उनीहरूको सुुस्त प्रजनन क्षमताका कारण आपूर्तिकर्ताहरूलाई अर्को विकल्प खोज्न कर लागेको छ ।
बेलायतको परोपकारी संस्था डंकी स्यांक्चुअरीको तथ्यांक अनुसार, हरेक वर्ष १८ लाख गधाको छालाको कारोबार हुन्छ भने माग चाहिँ १०० लाख छालाको छ ।
सरकारी तथ्यांकले सन् १९९० मा ११० लाख गधा भएकोमा आजकल गधा जम्मा ३० लाख रहेको देखाउँछ ।
चीनमा गधाको छालालाई उमालेर बनाइने सुपरफूड जिलेटिन इजियाओको मूल्य प्रतिकिलो ४० हजार रुपैयाँभन्दा बढी छ ।
चीनले अफ्रिकी मुलुकहरूबाट गधा आयात गरिरहेको छ । अत्यधिक मागका कारण अफ्रिकामा गधाहरूको संख्या घट्दै गएको छ । गधाहरूको संख्या घटेका कारण गरीब समुदाय अत्यन्तै प्रभावित छ किनकि उनीहरूले परिवहन र खेतीमा गधाको प्रयोग गर्छन् ।
त्यसैले युगाण्डा लगायतका अफ्रिकी मुलुकहरूले चीनमा गधा निर्यात गर्न प्रतिबन्ध लगाएका छन् ।
गधाप्रतिको दुर्व्यवहारका विषयमा आजकल खुबै आलोचना भइरहेको छ । बेलायतमा गधाहरूको परोपकारी संस्था र दक्षिण अफ्रिकाको समूह अक्सपेकर्सका खोज पत्रकारहरूले जनावरमाथि गरिने दुर्व्यवहारको समाचार बनाएका छन् ।
डंकी स्यांक्चुअरीका माइक बेकर भन्छन्, ‘गधाहरू अहिले सबभन्दा ठूलो संकटको सामना गरिरहेका छन् । त्यसैले गधाहरूको व्यापार रोक्नका लागि अन्तर्राष्ट्रिय अभियान सञ्चालन भइरहेको छ । गधाहलाई भोकै राखेर मारिएको हामीहरूले देखेका छौं । यसरी मार्दा छाला काढ्न सजिलो हुने रहेछ । यसबाहेक उनीहरूको शिरमा चोट लगाएर पनि मारिने रहेछ । अन्तर्राष्ट्रिय दबाबले पनि यसमा प्रभाव पार्छ । एक दर्जनभन्दा बढी देशले गधा निर्यातमा प्रतिबन्ध लगाएका छन् ।’
एजेन्सी