
नेकपा एमालेको सचिवालय बैठक शुरू भएको छ । प्रतिपक्षबाट सत्तापक्ष बनेपछि पहिलोपटक एमाले सचिवालय बैठक बसेको हो । बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा शुरू भएको छ ।
बैठकमा नयाँ गठबन्धन, सरकारमा पार्टीको सहभागितालगायत समसामयिक विषयमा छलफल हुने एमाले नेताहरूले बताएका छन् ।

यसअघि एमालेले यही फागुन ८, ९ र १० गते केन्द्रीय कमिटी बैठक राखेको थियो । आजको सचिवालय बैठकमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव समेटेर दस्तावेज बनाउने विषयमा पनि छलफल हुने बताइएको छ ।
फागुन २१ गते नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य तोड्दै नयाँ गठबन्धन बनाएपछि नेकपा एमाले प्रतिपक्षबाट एकाएक सत्तापक्ष बनेको हो ।
११ महिना प्रतिपक्षमा बसेर हालै सरकारमा सहभागी भएको एमालेले उपप्रधानसहित ८ मन्त्री सरकारमा पठाएको छ ।