३१ असार २०८३, बुधबार

माल्दिभ्सबाट दिल्ली फर्कँदै भारतीय सेना

फागुन २६, २०८०
काठमाडौं
माल्दिभ्सबाट दिल्ली फर्कँदै भारतीय सेना

भारतले माल्दिभ्सबाट आफ्ना सैनिकहरूको पहिलो टोलीलाई स्वदेश फर्काउने भएको छ । भारतको छिमेकी तथा सानो टापु राष्ट्र माल्दिभ्स चीन निकट बनेपछि भारतले आफ्ना सैनिकहरू फिर्ता गर्न लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

माल्दिभ्समा रहेका झन्डै ८० जना भारतीय सैनिकहरूलाई आगामी मे महिनाभित्र चरणबद्ध रूपमा फिर्ता गर्न त्यहाँका राष्ट्रपति मोहम्मद मुइज्जुले समयसीमा तोकिदिएका छन् । गत नोभेम्बरमा निर्वाचित भएर सत्तामा आएका मुइज्जुले भारतीय सेनालाई आफ्नो देशबाट हटाउने चुनावी वाचा गरेका थिए । उनलाई व्यापक रूपमा चीनको समर्थन रहेको ठानिन्छ ।

भारतले माल्दिभ्सलाई वर्षौँअघि अनुदानमा दिएका दुईवटा उद्धारमा प्रयोग हुने हेलिकप्टर र एउटा सानो आकारको विमान मर्मत तथा सञ्चालनका लागि आफ्ना सैनिकहरू उक्त देशमा तैनाथ गरिएको बताउने गरेको छ । 

भारतले उसका लागि रणनीतिक स्थानमा रहेको माल्दिभ्समा लामो समयदेखि प्रभाव राख्दै आएको छ । माल्दिभ्सबाट हिन्द महासागरका महत्त्वपूर्ण भागलाई निगरानी गर्न सकिन्छ । तर यी दुई देश बीचको सम्बन्ध विगत केही महिनायता निकै चिसिएको छ।

बेइजिङ र माले दुवैले गत ज्यानुअरीमा आफ्नो सम्बन्धलाई व्यापक रणनीतिक साझेदारीमा विस्तार गरेका छन् । त्यस बेला मुइज्जु चीनको राजकीय भ्रमणमा गएका थिए । उनले आफ्ना पूर्ववर्तीहरूले जस्तो कार्यकालको पहिलो भ्रमण भारतमा गर्ने चलनलाई तोडेका थिए । यसै साताको सुरुमा माल्दिभ्स सरकारले चीनसँग 'सैन्य सहायता' सम्झौतामा हस्ताक्षर गरेको छ। त्यसले दिल्लीलाई केही मात्रामा चिन्तित बनाएको छ।

माल्दिभ्सले सैन्य सहायताका लागि बेइजिङसँग रक्षासम्बन्धी सम्झौता गरेको यो पहिलो पटक हो । बेइजिङले भने माल्दिभ्समा आफ्नो कुनै पनि दीर्घकालीन सैन्य स्वार्थ र योजना नरहेको बताउँदै आएको छ ।

यस अघिका राष्ट्रपतिको नेतृत्वको सरकारले लिएको भारत-पहिलो नीतिका कारण अहिले चीन माल्दिभ्सबाट फाइदा लिन व्यापक रूपमा अघि बढिरहेको कतिपयको बुझाइ छ । बीबीसी हिन्दीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्