
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मिश्रित निर्वाचन प्रणालीका नाममा दलहरूले राजनीतिक भ्रष्टीकरणलाई जोड दिएको भन्दै कांग्रेस र एमालेले फोहोरलाई सफा गर्नुपर्ने बताएका छन् ।
ललितपुरको गोदावरी नगरपालिकाको ८ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै थापाले प्रतिनिधित्व गराउन बनाइएको समावेशी राजनीतिलाई दलका नेताहरूले दुरुपयोग गरेर फोहोर बनाएको भन्दै सफा गर्न एक ठाउँमा उभिनुपर्ने बताएका हुन् ।
‘सबैको प्रतिनिधित्व भएन भनेर मिश्रित निर्वाचन प्रणाली बनायौं । पहलेभन्दा विभन्न जातजाति, भूगोल र क्षेत्रका मानिसलाई ल्याउन यो प्रणालीमा गयौं । तर नेताहरूले घर परिवारका मात्रै होइन दलकै समेत दुरुपयोग गरेका छन् । अब विस्तारै यो अनुभवबाट नेपालका मुख्य दलले सिक्नुपर्छ । एकले अर्कोलाई बोक्ने राजनीतिको भ्रष्टीकारलाई रोक्नुपर्छ’ थापाले भने, ‘प्रधानमन्त्री बन्नेभन्दा अगाडिदेखि कुर्सी हल्लिएको छ । यो डर हामीले विकृत बनाएको राजनीतिले गर्दा हो । यसैले हाम्रो समय खेर गएको छ । हाम्रो राजनीतिक सफा भएन भने राजनीतिलाई शुद्ध र परिणाामुखी बनाउन सकिएन भने समय खेर जान्छ । कांग्रेस, एमालेले धोका खाएकाले छलफलको ठाउँमा पुगे भन्ने लाग्छ । एक ठाउँमा बसेर अब राजनीतिक फोहोरलाई सफाइ गरौं भन्ने ठाउँमा पुगौं ।’
प्रधानमन्त्री, मन्त्री, सांसद, मेयर, वडाध्यक्ष सबैले युद्धको बेला जस्तो काम गर्नुपर्नेमा सबैको उर्जा, सरकार बनाउने र ढाल्ने खेलमा लाग्नु चिन्ताको विषय भएको उनको भनाइ छ ।