
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई प्रहरीलाई घुस रकमसहित पक्राउ गरेको छ । प्रहरी चौकी कान्तिबजार महोत्तरीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई)शर्माप्रसाद यादव र वरिष्ठ प्रहरी हवल्दार मन्जित कुमार झालाई घुससहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनका अनुसार सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा महोत्तरीको गौशाला नगरपालिका-१२ स्थित गैरीटोलबाट आइतबार उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
महोत्तरी जिल्ला अदालतबाट भएको फैसलाको कार्यान्वयन नगर्न छलफल गराउने भन्दै सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा बर्दिबासबाट खटिएको टोली उनीहरूलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।
उनीहरूमाथि थप अनसन्धान भइरहेको अख्तियारले जनाएको छ ।