
नेकपा एकीकृत समाजवादीले आफूहरूका लिखित मागमा प्रधानमन्त्रीले लिखित सहमति जनाए मात्रै विश्वासको मत दिने निर्णय गरेको छ ।
सोमवार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले लिखित सहमति गरे मात्रै राष्ट्रिय सभामा भोट हाल्ने र विश्वासको मत दिने जानकारी नेकपा एसका प्रमुख सचेतक मेटमणि चौधरीले दिए ।
‘हामीले अगाडि सारेका मागका विषयमा प्रधानमन्त्रीले लिखित सहमति गरे मात्रै हामी भोट दिन्छौं’ चौधरीले भने, ‘नत्र भोलि हुने राष्ट्रिय सभा अध्यक्ष र पर्सी हुने विश्वासको मत दिनुपर्छ भन्नेमा हामीले जरुरी ठानेका छैनौं ।’
पछिल्लो समीकरणप्रति नेकपा एस शुरूमै असन्तुष्ट थियो । प्रधानमन्त्री प्रचण्ड र एमाले र अध्यक्षले पटकपटक आग्रह गरेपछि नेकपा एस सरकारमा सहभागी भएको थियो । तर अध्यक्षको निर्वाचन अघि र विश्वासको मत अगाडि उसले आफ्नो शर्तहरू अगाडि सारेको हो ।
नेकपा एसले सरकारमा बलियो उपस्थिति मात्रै होइन यस अघि गठबन्धनको आलोपालोमा भएको प्रधानमन्त्रीको भागबन्डाको विषय समेत उठाएको छ ।
भोलि राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र पर्सी संसद बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम छ ।
प्रतिनिधिसभामा नेकपा एसले विश्वासको मत नदिए प्रधानमन्त्रीलाई मुस्किलको बहुमत पुग्छ ।