०४ साउन २०८३, सोमबार
नेपाललाई फकाउँदै ओली-प्रचण्ड

माधवको अडानबारे बालुवाटारमा शीर्ष तीन नेताबीच छलफल

फागुन २९, २०८०
काठमाडौं
माधवको अडानबारे बालुवाटारमा शीर्ष तीन नेताबीच छलफल

सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो । 

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो । एकीकृत समाजवादीले अडान राखेपछि शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

एकीकृत समाजवादीले राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि लिखित सहमति गर्नुपर्ने अडान राखेको छ । सोमबार मात्रै समाजवादीले विश्वासको मत दिन लिखित सहमतिको माग गरेको थियो ।

लिखित सहमतिको अडान राखेपछि एकीकृत समाजवादीलाई मनाउन प्रचण्ड  र ओलीले संवाद थालेको एक नेताले जानकारी दिए । ‘एकीकृत समाजवादीको पनि केही चासो सतहमा आएपछि उहाँसँग छलफल गरेर जाने तयारी भएको बुझेका छौं’ बालुवाटार स्रोतले भन्यो, ‘ठूलो पार्टीले लचक भएर पनि अरुलाई विश्वासमा लिनुपर्नेमा पुगेरै छलफल भएको हो ।’ 

नेपालले आफूसँग पर्याप्त छलफल नगरी मन्त्री चयन गरेको, मुख्य पद भागबन्डामा छलफल नगरेकोजस्तो आरोप लगाएका छन् । यतिमात्रै होइन यसअघि जस्तै आलोपालोमा एक वर्ष प्रधानमन्त्री बन्न पाउनुपर्ने शर्तसमेत नेपालले राखेको नेताहरू बताउँछन् । 

तर, प्रधानमन्त्रीले सरकारमा जिम्मेवारी दिँदा र अरु भागबन्डामा नेपाललाई पनि मिलाएर जाने आश्वासन दिएका छन् । 

यस अघि पनि सरकारमा बहुमतमा सकस देखिएपछि प्रधानमन्त्री र ओलीले पटकपटक वार्ता गरी नेपाललाई सरकारमा ल्याएका थिए । तर पनि नेपाल सन्तुष्ट हुन सकेका छैनन् । 

यसैबीच एमाले नेता गोकुल बाँस्कोटाले माधव नेपाल एक वर्ष प्रधानन्त्री बन्ने ग्यारेन्टी पत्र हुने आशय व्यक्त गरेका छन् । ‘एक वर्ष प्रम ग्यारेन्टी हुने प्रचण्ड पत्र मेटमणिले माधव नेपाललाई दिलाएरै छाड्ने पक्का देखियो’ बाँस्कोटाले सामाजिक संजालमा लेखेका छन्, ‘राजनीति हो,असम्भव भन्ने शब्दावली डिलिट हान्दिएँ ल ! जे पर्छ परोस्।’

नयाँ समीकरण बनाउँदा प्रचण्ड र ओलीबीच दुई-दुई वर्ष प्रधानमन्त्रीमा आलोपालोको सहमति भएको नेताहरू बताउँछन् । तर नेपालले पनि एक वर्ष आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै आएका छन् । 

यसअघि तत्कालीन सत्ता समीकरणमा पनि नेपालले एक वर्ष प्रधानमन्त्री पाउने समझदारी थियो । तर कांग्रेससँगको गठबन्धन टुटेपछि एमाले सरकारमा भित्रिँदा समीकरण फेरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्