
नेकपा (माओवादी केन्द्र)का राष्ट्रिय सभा प्रमुख सचेतक गोपीबहादुर अछामीले समयको माग र आवश्यकताले सत्ता समीकरण बदलिएको बताएका छन् ।
राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राख्दै अछामीले नयाँ समीकरण समयको माग भएको बताएका हुन् ।
‘नेपालमा भएका दलहरू सबैको भूमिकाबाट देशमा परिवर्तन सम्भव भएको छ । यसलाई हामी स्थापित गर्दै र संस्थागत गर्दै अगाडि बढेका छौं’, अछामीले भने, ‘अहिले समीकरण बदिलएको छ । यो आवश्यकताले भएको हो ।'
उनले थपे, 'वामपन्थी र परिवर्तनगामी शक्ति एक हुँदा सुशासन, स्थायित्व, सामाजिक न्याय र समाजवादतिर जान सकिन्छ । वामपन्थी र नयाँ शक्तिले देशमा सुशासन कायम गर्दै बेथिति अन्त्य गर्ने संकल्प गरेका छन् । यो समयको माग हो ।’
राष्ट्रिय सभा अध्यक्षका लागि उनले राखेको प्रस्तावमा नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन जनाएका छन् ।