०४ साउन २०८३, सोमबार

राजीनामा दिँदै हाइटीका प्रधानमन्त्री

फागुन २९, २०८०
काठमाडौं
राजीनामा दिँदै हाइटीका प्रधानमन्त्री

मेक्सिको सिटी–हाइटीका प्रधानमन्त्री एरियल हेनरीले सङ्क्रमणकालीन राष्ट्रपति परिषद् गठन भएपछि आफूले राजीनामा दिने घोषणा गरेका छन् । 

‘मैले नेतृत्व गरिरहेको सरकारले (सङ्क्रमण) परिषद्को स्थापनापछि तुरुन्तै राजीनामा दिनेछ ।  म सबै हाइटीबासीलाई शान्ति र स्थायित्वका लागि संयमित रहन आग्रह गर्दछु,’ हेनरीले भिडियो सम्बोधनमा भनेका छन् ।

 क्यारेबियन समुदायका क्षेत्रीय नेताहरूले सोमवार जमैकामा राजनीतिक सङ्क्रमणको व्यवस्थापन ढाँचामा छलफल गर्न र स्थानीय बासिन्दाहरूलाई तत्काल मानवीय सहायता प्रदान गर्नका लागि आपत्कालीन शिखर सम्मेलन आयोजना गरेका छन् ।

सन् २०२१ जुलाई ७ मा हइटीका तत्कालीन राष्ट्रपति जोभेनेल मोइसको हत्या भएपछि त्यहाँ राजनीतिक अस्थिरता बढेको छ ।  हइटीमा यस वर्षको फेब्रुअरी ७ अघि निर्वाचन हुने भनिएको थियो तर हुन सकेन जसले सामाजिक अशान्ति र राजनीतिक अस्थिरता निम्त्याइरहेको छ ।

फेब्रुअरीको अन्त्यदेखि  हइटीका थुप्रै गिरोह सङ्गठनहरूले प्रधानमन्त्रीको राजीनामाको माग गर्दै राजधानी, पोर्ट–ओ–प्रिन्स, प्रहरी चौकी, प्रहरी प्रतिष्ठान र अन्तरराष्ट्रिय विमानस्थललगायत सार्वजनिक निकाय र क्षेत्रमा आक्रमणलाई तीव्रता दिएका छन्।
 

salt training

कमेन्ट गर्नुहोस्