०८ साउन २०८३, शुक्रबार

चितवनमा चुनावी भिडन्तः प्रचण्डदेखि बिक्रम पाण्डेसम्म मैदानमा

कात्तिक २०, २०७४
चितवनमा चुनावी भिडन्तः प्रचण्डदेखि बिक्रम पाण्डेसम्म मैदानमा

चितवन, २४ असोज– स्थानीय तहको निर्वाचनमा निकै चर्चा पाएको चितवनले संघ र प्रदेशको निर्वाचनमा पनि चर्चा पाएको छ ।

जिल्लाका तीन वटै क्षेत्रमा केन्द्रीय नेता नै निर्वाचन लड्न इच्छुक देखिएपछि जिल्लाको नाम चल्न थालेको छ । चितवन क्षेत्र नं १ बाट नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे, क्षेत्र नं २ बाट नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं पूर्वरक्षामन्त्री रामबहादुर थापा ‘वादल’, क्षेत्र नं ३ बाट माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सोही क्षेत्रबाट राप्रपा (प्रजातान्त्रिक)का का केन्द्रीय उपाध्यक्ष एवं वर्तमान वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डे निर्वाचनमा लड्ने तयारीमा छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसअघि नै घोषणा गरेर क्षेत्र नं ३ बाट निर्वाचन लड्ने बताइसक्नुभएको छ । गृह जिल्ला चितवन भए पनि यसअघिका निर्वाचनमा उनी अन्यत्रबाट प्रतिस्पर्धा गरिरहेका थिए ।
सोही क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकामा छोरी रेणु प्रमुख छन् । यसअघि सो क्षेत्रबाट नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला निर्वाचन भई प्रधानमन्त्रीसमेत भएका थिए ।

हाल निर्वाचन क्षेत्र गाभिएपछि सोही क्षेत्रमा पर्ने यसअघिको क्षेत्र नं ५ बाट निर्वाचित सांसदसमेत रहेका पूर्वमन्त्री पाण्डेले क्षेत्र नं ३ बाटै निर्वाचन लड्ने बताउँदै आएका छन् । उनले भने, ‘लोकतान्त्रिक गठबन्धन भए पनि नभए पनि म क्षेत्र नं ३ बाटै निर्वाचन लड्छु ।’ यसअघि पार्टीभन्दा व्यक्तिगत मत बढी पाउनुभएका पाण्डेले दाहालसँग निर्वाचनमा भिड्दै बताउँदा चुनावी रौनकता र प्रतिस्पर्धा अरु थपिने देखिएको छ ।

त्यस्तै क्षेत्र नं २ बाट माओवादी केन्द्रका नेता थापा निर्वाचन लड्न इच्छुक देखिएका छन् । उनका स्वकीय सचिव अच्युत पन्तले थापा एक्लै निर्वाचन लड्ने तयारीमा रहेकोमा वाम एकता भएपछि झन् सजिलो बनेको बताए । पन्तले भने, ‘नेता थापा समानुपातिक होइन, प्रत्यक्ष निर्वाचन लड्न इच्छुक हुनुहुन्छ ।’ यसअघि २०६४ सालको संविधान सभा निर्वाचनमा सोही क्षेत्रसमेत पर्ने तत्कालीन क्षेत्र नं २ बाट थापा निर्वाचित थिए । थापालाई माओवादी केन्द्रका तेस्रो ठूलो नेताका रुपमा लिइन्छ ।

त्यसैगरी वामपन्थी गठबन्धनको कार्य दलमा थापा रहेका छन् । जिल्लाको क्षेत्र नं १ बाट एमाले नेता पाण्डेको नाम सर्वसम्मत सिफारिस भएको छ । जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्काले क्षेत्र नं १ मा पाण्डेको विकल्प अरु नभएको बताए । पार्टीको गत महाधिवेशनमा उहाँ महासचिवमा झिनो मतले पराजित हुनुभएको थियो । उनी सोही क्षेत्रको हालको सांसद पनि छन् । जिल्लाका पाँच क्षेत्र गाभिएर ३ क्षेत्र बनेपछि वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उच्च नेताले इच्छा देखाएपछि यहाँको चुनावी सरगर्मी निकै बढेर गएको छ ।

केन्द्रीय नेता नै जिल्लाबाट निर्वाचन लड्ने भएपछि यहाँको विकास द्रुत गतिमा हुने अपेक्षा स्थानीयवासीले गरेका छन् । यसअघि देशको राजधानी र प्रदेशको राजधानीलगायत चर्चा गरिँदै आएको भए पनि ‘छयहत्तरौँ जिल्ला’ले कुनै उपलब्धि लिनसकेको छैन । जिल्लामा तीन लाख ५४ हजार ३५ मतदाता छन् ।

salt training

कमेन्ट गर्नुहोस्